यसरी प्रष्ट हुन्छ सबैभन्दा ठुलो भारतीय दलाल को हो भनेर

तराईमधेस जलिरहेको छ, पुरै देश छट्पटिरहेको छ डेढ महिना देखि चलेको आन्दोलन र पछिल्लो समय भारतले लगाएको अघोषित नाकाबन्दीले तर पनि सरकारलाई कुनै चासो छैन। कानमा तेल हालेर बसिरहेको छ यो नालायक सरकार। पिडा थोरै धेरै होला तर देशैभरी जनतामा आक्रोश बढिरहेको छ नाकाबन्दी लगाउने भारत सरकारप्रती र त्यो भन्दा पनि धेरै समस्याको समाधान गर्न अलिकति पनि अग्रसरता नदेखाउने हाम्रो लाचार सरकारप्रति।

लेखक

प्रेम रेग्मी

यतिबेला सरकारको प्रमुख काम आन्दोलनकारिका जायज माग पूरा गर्नु र पुरा गर्न नसकिने माग किन सकिदैन प्रष्ट पार्नु अनि सँगसगै भारतीय नाकाबन्दीको विकल्प खोज्नु हुन्छ। सरकारले यो समयमा बुझ्न जरुरी छ कि आगो घ्यूले हैन पानीले निभ्छ भनेर त्यसैले देशको तराइमधेसमा भइरहेको आन्दोलनको समाधानतर्फ सरकारको ध्यान जानै पर्छ हैन भने यसले आर्थिक र मानवीय नोक्सानी मात्र हैन राष्ट्रियता नै खतरामा पर्ने त वारिपारिका आवाजहरुले नै प्रष्ट पार्छन। त्यसैले, यो समयमा मधेशमा बस्ने नेपाली र इन्डियनलाई एउटै नजरले हेर्ने हाम्रो दृष्टिकोणमा परिवर्तन आउन जरुरत छ र सरकार र राजनीतिक दलहरूले मधेसमा बसोबास गर्ने जनतामा म एउटा नेपाली हुं भन्ने भावना सृजना गर्न सक्नुपर्छ।

हामीलाइ पुर्खाले झुक्न सिकाएका छैनन कुनैपनी शक्तिसँग आफ्नो राष्ट्रियता, स्वाधीनता, एकता र सार्बभौमसत्ताको लागि। त्यसैले जनता चाहदैनन् कि सरकार भारतसँग झुकोस । जनता तयार छन जस्तोसुकै राष्ट्रियताको लागि जस्तोसुकै बिपत तथा शक्तिसँग सामना गर्न तर यसको मतलब यो हैन कि सरकार कानमा तेल हालेर बसे हुन्छ जनता जस्तोसुकै परिस्थिति सहन सक्छन। जनता चाहदैनन् कि आफु चाँहि घन्टौं हिडेर गन्तव्यमा पुग्ने र मन्त्रीको गाडी सुरक्षाबल सहित साइरन बजाउदै बाटोमा हुइकियोस।

च्यानलबितरकहरुले हिन्दी च्यानलको प्रसारण रोक्दा स्पष्टीकरण माग्न अग्रसर हुने सरकारले चीनिया राष्ट्रपतिबाट समेत चाहेको खण्डमा जस्तोसुकै सहयोग गर्न तयार छौं भन्दापनी अलिकति पनि ध्यान दिएको देखिदैन न त आन्दोलन रोक्नतिर कुनै ध्यान पुगेको देखिन्छ। यस्तै क्रियाकलाप देख्दा त लाग्छ यहाँको सबैभन्दा ठुलो दलाल त सरकार हो जसलाई आफ्ना जनता भोकै मर्दा भन्दा भारतीय च्यानलहरुको प्रसारण बन्द हुँदा चासो लाग्छ।

तातोपानी नाका खुलाउन तत्काल संभव छैन भन्नेबाहेक सरकारको तर्फबाट अरु कुनै प्रतिक्रिया आएको जस्तो लाग्दैन। के संभव छैन त ? हजारौं सेना ब्यारेकमा छन, लाखौं कार्यकर्ता खुल्लामण्चमा ल्याएर शक्ति प्रदर्शन गर्ने राजनीतिक दलले आफ्ना कार्यकर्ता यो बिपतमा तेतातिर लगाए हुँदैन? त्यति मात्र हैन सरकार व्यवस्था मात्र मिलाओस तातोपानीसम्म पुग्न लाखौं युवा तयार हुन्छन श्रमदान गर्न र बढिमा तीन दिनमा सम्पुर्ण काम सकिन्छ।

तर सुतेको मान्छेलाई उठाउन सकिन्छ तर सुतेको नाटक गरेकोलाई सकिदैन भनेजस्तो यो सरकार यति छिट्टै समस्या समाधानतिर लाग्छ जस्तो लाग्दैन। यो सरकार त तब जाग्नेछ जब देस खरानी हुनेछ। धिक्कार छ सरकार र सरकार चलाउनेहरु !!

,

news and entertainment