भारतकी बाणिज्य मन्त्री ढुवानी समस्याबारे यसो भन्छिन
आश्विन १३, २०७२- भारतीय बाणिज्य तथा उद्योग मन्त्री निर्मला सितारमणले भारतबाट नेपाल निर्यात हुँदै आएको पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य पदार्थको ढुवानीमा रोकाबट आएपछि उब्जिएको समस्याका बारे प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्ने बताएकी छन् ।
दक्षिण एशियाली आर्थिक कन्क्लेभ बैठकमा सहभागी हुन केही दिनयता दिल्लीमा रहेका बाणिज्य तथा आपुर्ती मन्त्री सुनिलबहादुर थापाले समकक्षी सितारमणसँग बुधबार दिउँसो उद्योग भवनमा भेटवार्ता गर्दै नेपालमा उब्जिएको समस्याबारे जानकारी गराएका थिए । ‘मैले समकक्षी मन्त्रीलाई आपुर्ती र ढुवानी समस्याका कारण नेपालमा उब्जिएको समस्या तथा यसले दीर्घकालसम्म नेपाल–भारत सम्बन्धमा पर्न सक्ने असरबारे अवगत गराएँ,’ मन्त्री थापाले कान्तिपुरसँग भने ।
राष्ट्रसंघीय महासभामा भाग लिएर न्यूयोर्कबाट बुधबार दिल्ली फर्किसकेका कारण जतिसक्दो चाँडो प्रधानमन्त्रीलाई भेट गरेर नेपालमा उब्जिएको समस्याबारे अवगत गराउने मन्त्री सितारमणले थापालाई बताएकी थिइन् ।
मन्त्री थापाले यसअघि विदेश मन्त्री सुषमा स्वराजलाई भेटेर नेपालमा देखिएको दैनिक उपभोग्य तथा पेट्रोलियम समस्याका बारेमा अवगत गराएका थिए । मन्त्री थापाले पेटोलियम मन्त्री धर्मेन्द्र प्रधान र अर्थ मन्त्री अरुण जेट्लीसँग समेत भेटवार्ता गर्ने पहल गरिरहेका छन् ।
‘अघोषित नाकाबन्दीका रुपमा एक सातायता देखिएको ढुवानी समस्याका बारे भारतको केन्द्र सरकारले निर्णय नगरी तत्कालै समाधान देखिने स्थिती छैन,’ नेपालका लागि एक पूर्वराजदूतले बुधबार भनेका छन्, ‘नेपालको राजनीतिक मामलासँग जोडिएर सुरु भएको नाकाबन्दीसम्मको प्रयोगले भारत सरकार स्वयम लज्जित बन्ने अवस्था आएको छ, यसबारे बिहिबारभित्रैमा केही सकारात्मक निर्णय आउने आशा छ ।’
