छोरीको निर्ममतापूर्वक हत्या भएपछि पत्रकार सम्मेलनमै अवाल परिवारको रुवावासी

भक्तपुर, १३ असोज । भूकम्पले घर भत्काएर आहत बनाएको पीडा आलै छँदा अवाल परिवारमा आएको अर्को विपत्तिले झन पीडा थपेको छ ।
भूकम्पलगत्तै भक्तपुरमा उद्धार र राहत वितरणमा खटिएकी भक्तपुर नगरपालिका–१६ वंशगोपाल बस्ने २६ वर्षकी सिर्जना अवालको हत्या भएपछि अवालको परिवारमा रुवावासी भएको छ ।
पीडित परिवार सम्मिलित नागरिक दबाब समूहले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मृतकका बाबु शिवप्रसाद अवाल, आमा सुन्दरी र छोरी एलिनाको रुवाबासीले सहभागी पत्रकारलाई समेत स्तब्ध बनायो ।
पीडित परिवार पत्रकार सम्मेलनमा

पीडित परिवार पत्रकार सम्मेलनमा
कार्यक्रममा अवालले काठमाडौँको कागेश्वरी मनोहरी नगरपालिका वडा नं १३ मुरारीप्रसादको घरमा बस्ने सप्तरीका ३६ वर्षीय निखिलआनन्द सिंहले छोरी सिर्जनाको हत्या गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले गत असोज ८ गते राति बौद्ध चुची सङ्घबाट फर्किने क्रममा सिंहले अपहरण गरी आफ्नो कोठामा लगेर अभद्र व्यवहार गरी कुटपिट गरेर हत्या गरेको भन्दै सिंहलाई कारबाही गर्न माग गर्नुभयो ।
हत्या आरोपमा प्रहरीले असोज ९ गते बिहानै घटनास्थलबाटै सिंहलाई पक्राउ गरेपछि कुनै अनुसन्धान नै नगरी १० गते सार्वजनिक बिदाको दिन बानेश्वर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले रिहाई गरेपछि न्यायको माग गर्दै परिवारले सञ्चारकर्मी गुहारेका हुन् ।
कार्यक्रममा रुँदै आमा सुन्दरीले अपराधीको सत्यतथ्य छानबिन गरी कारबाही हुनुपर्ने माग गर्नुभयो ।
गत असोज ९ गते बिहान ६ बजे प्रहरीले खबर गरेपछि आफू घटनास्थलमा पुग्दा छोरीको तल्लो ओठ फुटेर रगत आएको, माथिल्लो ओठ काटेको, गालामा घाउ नै घाउ भएको, करङ, कोखामा नीलडाम भएको, घाँटीमा ठूलो चोट रहेको, हात काटेको घाउ भई छोरीको मृत्यु भइसकेको अवस्थामा भेटेको मृतकका बाबु अवालले बताउनुभयो ।
अपहरणपछि कोठामा लगेर सिंहले यातना दिएर हत्या गरी झुन्ड्याएको आरोप मृतकका परिवारको छ ।
शव परीक्षणमा संलग्न चिकित्सकले मुख थुनेर, घाँटी थिचेर मृत्यु भएको बताएको र पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले प्रलोभनमा परेर हत्या आरोपी सिंहलाई रिहा गरेको भन्दै कारबाही गर्न मृतकका बाबु अवालले माग गर्नुभयो ।
हत्या आरोपीलाई रिहा गरेपछि प्रहरी वृत्त बानेश्वरमा दबाब दिन गएका परिवार, आफन्त, भक्तपुरका बासिन्दा र अर्किड कलेजका विद्यार्थीलाई वृत्तका प्रहरी निरीक्षक मनोजीत कुँवरको नेतृत्वमा प्रहरीले लाठीचार्ज गरी छजनालाई घाइते बनाएको पीडित परिवारले बताए ।
प्रहरीले अवालको हत्यालाई आत्महत्या बनाएर अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै घटनाको तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् । रासस

,

news and entertainment