एमालेमा कुटाकुट, ओली पक्षधरले नेपालका कार्यकर्तालाई मरणासन्न कुटे
काठमाडौं, ३२ साउन । नेकपा एमाले जिल्ला कार्यसमिति कञ्चनपुरमा कुटाकुट भएको छ ।
एमाले निकट अनेरास्ववियुको क्षेत्रीय सम्मेलनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका कार्यकर्ताबीच कुटाकुट भएको नेकपा एमाले कृष्णपुर गाउँ कमिटी अध्यक्ष अमरजंग शाहीले बताए ।
साउन १९ गते कञ्चनपुरको क्षेत्र नम्बर २ स्थित कृष्णपुरमा आयोजित अनेरास्ववियुको क्षेत्रीय सम्मेलनमा दुबै पक्षका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा ओली पक्षधरले नेपाल पक्षधरका कार्यकर्तालाई मरणासन्न कुटपिट गरेका छन् ।
ओली पक्षका कार्यकर्ता बिराज कुवर र पदम भण्डारीले नेपाल पक्षका स्थानीय नेता, गाउँ कमिटी सचिव तथा अनेरास्ववियुका जिल्ला कोषाध्यक्ष ललित साउदलाई कुटपिट गर्दै ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
उनको अहिले पनि भारतमा पिलिभित स्थित शारदा अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न ओली पक्षका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपनि घरौटी छाडेको छ ।
कुटिएका नेपाल पक्षका कार्यकर्ताको उपचार भइराखेकै बेला अभियुक्तलाई कारवाही नगरी धरौटीमा छाडेको भन्दै एमाले कृष्णपुर गाउँ कमिटीले आपत्ति जनाएको छ ।
सोमबार विज्ञप्ती निकाल्दै एमाले गाउँ कमिटीले भनेको छ-‘कुटिएका सचिव साउदको भारतमा उपचार भइराखेको अवस्थामा दोषीलाई प्रशासन कार्यायले २५ सय धरौटी लिएर तारिकमा रिहा गरेको सुन्दा स्तब्ध भएका छौं । मान्छेलाई मार्ने गरी आक्रमण गरी पीडित विरामीको उपचार भइरहेकै अवस्थामा प्रहरी प्रशासनद्धारा दोषी रिहा गर्ने कामप्रति गाउँ कमिटी खेल प्रकट गर्दछ ।’
गाउँ कमिटीका अनुसार घाइते साउदको उपचारमा डेढ लाख खर्च भइसकेको छ । साथै एमाले गाउँ कमिटीले दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेको छ । ‘यदि दोषीलाई हदैसम्मको कारवाही नगरी पीडितलाई न्याय नदिएको खण्डमा एमाले गाउँ कमिटी चरणबद्ध आन्दोलनमा उत्रिने जानकारी गराउँदछौं’ विज्ञप्तीमा भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एमालेका केन्द्रिय नेताहरुको ठाडो आदेशमा पीडितलाई जानकारी नगराई दोषीलाई छाडेको भन्दै एमाले कृष्णपुर गाउँ कमिटीले सोमबार विज्ञप्ती मार्फत विरोध जनाएको हो ।