किशोर बुढाथोकी |
२०७२ आस्विन ४ सोमबार
विराटनगर : विराटनगरमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको झडपका क्रममा गोली चलेको छ ।
प्रहरीको गोली लागेर एक महिलासहित दुईजना घाइते भएका छन् । टाउकोमा गोली लागेर घाइते भएका विराटनगर–७ सरोचियाका २२ वर्षीय विशाल केसरीको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै छातीमा गोली लागेकी विराटनगर–७ की ३० वर्षीय पिंकी केसरीको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
मोर्चाले भने प्रहरीले अन्दाधुन्दा प्रहार गरेको गोली लागेर पाँचजना घाइते भएको दावी गरेको छ ।
सीमांकनप्रति असन्तुष्टि जनाउँदै एक महिनादेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको प्रदर्शन उग्र भएपछि विराटनगर विहानैदेखि तनावग्रस्त बनेको थियो ।
संविधानको विरोध गर्नका लागि ठूलो संख्यामा उपस्थित भएका मोर्चाका कार्यकर्ता शिव मन्दिरदेखि रोडशेष चौक सम्म ठाउँ ठाउँमा टायर बालेर प्रदर्शनमा उत्रिएपछि विराटनगर स्थिती असामान्य बनेको हो ।
आन्दोलनकारीहरुले महावीर रोडमा प्रहरीको भेनमा आक्रमण गर्न खोजेपछि तनाव सुरु भएको थियो ।
भ्यानमा आक्रमण गर्न खोजिएपछि प्रहरीले सुरुमा अश्रु ग्यास प्रहार गरेको थियो । आन्दोलनकारीको ढुङगा प्रहारबाट प्रहरीको भेनमा समेत क्षति पुगेको छ ।
अश्रु ग्यास प्रहार गर्दा पनि आन्दोलनकारीहरु पछि नहटेपछि गोली चलाउनु परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताए ।
उनका अनुसार स्थितीलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दर्जनौ राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।
नेपाल र सशस्त्र प्रहरीले गरेर १२ राउण्ड भन्दा बढी हवाई फायर गरेको र छ सेल भन्दा बढी अश्रु ग्यास प्रहार गरेको बताइएको छ ।
‘स्थिती असामान्य बनेपछि नियन्त्रणमा लिन हवाई फायर गर्नै पर्ने अवस्था आयो,’ मोरङ प्रहरीका प्रवक्ता खरेलले भने, ‘अहिलेपनि स्थिति असामान्य रहेका कारण सबै ठाउँमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाइएको छ । विराटनगरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।’
आन्दोलनकारीले संविधानको विरोध गर्दै टायर बालेर प्रदर्शन, मोटरसाइकल लगायतका सवारी साधनमा आक्रमण र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि फायर खोल्नुपरेको खरेलको भनाइ छ । डीएसपी खरेलले घटनामा दुई जनालाई गोली लागेको मात्र पुष्टि भएको बताए ।
विराटनगरमा प्रहरी र आन्दोलनकारीबीच विहानैदेखि झडप हुन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । विराटनगरको महाविर रोड र घाँस चौकमा प्रहरी र मोर्चाका कार्यकर्ताबीच एक महिनादेखि लगातार झडप हुँदै आइरहेको छ ।
आन्दोलनरत मोर्चाको एक घटक संघिय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादवले भने पाँचजना आन्दोलनकारीलाई गोली लागेको बताए ।
‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । प्रहरीले अन्दाधुन्दा गोली हान्यो,’ उनले भने, ‘प्रहरीको गोली लागेर मात्र पाँच जना घाइते भएका छन् । झडपमा लाट्ठी प्रहारबाट १४ जना भन्दा बढी घाइते भएका छन् ।’
उनले मोर्चाले आइतबार आयोजना गरेको र्याली र कोणसभामा प्रहरीले दमन गरेपछि सोमबार विहानैबाट प्रदर्शन गर्न बाध्य हुनु परेको बताए ।
मधेसीको मागलाई सम्बोधन नगरी जारी गरिएको संविधानप्रति असन्तुष्टि जनाउँदै आफूहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्न लगाएको उनको आरोप
छ ।
प्रहरीको समर्थनमा संविधान समर्थकहरुले आफूहरुमाथि खुकुरी प्रहार गरेको उनको दावी छ । फोरम नेपालले प्रहरीले पार्टी कार्यालयमा प्रवेश गरेरनै आफ्ना कार्यकर्ताहरुमाथि निर्घात कुटपिट गरेको आरोप लगाएको छ । यादवले प्रहरी दमन नरोकि आन्दोलनलाई थप कडा बनाएर लैजाने बताए ।
‘अराजक गतिविधी नहोस भनेर परिचालन गरिएको प्रहरीमाथि आक्रमण गरेपछि चुप लागेर बस्न सकिँदैन,’ डीएसपी खरेलले भने, ‘शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दैन तर आन्दोलनका नाममा अराजकता मच्चाउनेलाई छाड्दैन ।’
उनले स्थिती विग्रन सक्ने अवस्था आए प्रहरीले जुनसुकै उपाय लगाएर भएपनि हस्तक्षेप गर्ने दावी गरे ।
annapurnapost
