दाजुको नाममा ‘सुसाइड नोट’ लेख्दै कोरियामै झुन्डिए प्रदीप
लिलु डुम्रे |
२०७२ आस्विन २ शनिबार
फोटो :कोरियमा अात्महत्या गरेका प्रदीप भट्ट
नयाँ संविधानप्रति शुभेक्षा
सोल : तीन महिनाअघि मात्र रोजगारीका लागि दक्षिण कोरिया आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् ।
खजेदोस्थित पानीजहाज बनाउने डीएसएमइ कम्पनीमा कार्यरत बोरलांग–७ गोरखाका २५ वर्षीय प्रदीप भट्टले शुक्रबार बाथरुममा झुन्डिएर आत्महत्या गरेका हुन् ।
तीन महिनाअघि कोरिया आएका भट्ट काम सुरु नगर्दै कम्पनी बन्द भएपछि अर्को कम्पनीमा स्थानान्तरण भएका थिए ।
उनका सहकर्मी पोखराका मनोज भण्डारीका अनुसार भट्टले कोरियामै रहेका सहोदर दाजुलाई सम्बोधन गरी लेखिएको ‘सुसाइड नोट’ फेला परेको छ ।
सुसाइड नोटमा उनले दाजुले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आफुले सहयोग गर्न नसकेमा दुःख व्यक्त गरेका छन् ।
उनले झुन्डिनुअघि लेखेको सुसाइड नोटमा नेपालमा संविधानप्रति पनि शुभेक्षा व्यक्त गरेका छन् ।
पित्तथैलीमा समस्या भएपछि भट्टले यसअघि १५ दिन आराम गरेको सहकर्मी पोखराका मनोज भण्डारीले जानकारी गराए ।
नेपाली दूतावासका श्रम सहचारी अनिल गुरुङले घटनाबारे अनौपचारिक जानकारी आएको बताउँदै पोस्टमार्टमपछि शव नेपाल पठाउने प्रक्रिया थालिने जानकारी दिए ।
मृतक भट्टको परिवारमा बुबाआम, दुइ दाइ र एक बहिनी छन् । भट्टका एक दाजु कोरियामै रोजगारीको क्रममा रहेका छन् । annapurnapost
