संविधान रोक्ने भारतको आग्रह अस्वीकार
संविधान रोक्ने भारतको आग्रह अस्वीकार
२ असोज, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशंकरले पारित भइसकेको संविधान कार्यान्वयन ढिला गर्न दिएको दबाबलाई प्रधानमन्त्रीसहित शीर्ष नेताले अस्वीकार गरेका छन्।
जयशंकरले आफ्नो मुलुकको सीमा जोडिएको तराई–मधेसमा आन्दोलन चर्किंदा सुरक्षा खतरा भएको निहुँ गर्दै आइतबार जारी गर्न तयार भएको संविधान स्थगन गर्न भनेका थिए। उनले आफ्नो मुलुकको संविधान जारी गर्नसमेत ढिलाइ गरिएको उदाहरण प्रस्तुत गरे पनि नेताहरू त्यसनिम्ति तयार भएनन्।
मोदीका विशेष दूतका रुपमा शुक्रबार काठमाडौं आइपुगेका जयशंकरले तराई–मधेसमा आन्दोलन चर्कंदा सीमा सुरक्षामा खतरा आउने भन्दै समयमै थरुहट र मधेसकेन्द्रित दलका माग सम्बोधन गर्नसमेत आग्रह गरेका छन्।
राष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रमुख दलका शीर्ष नेतालाई भेटेर आन्दोलनरत पक्षलाई सहमतिमा लिई संविधान जारी गर्न उनले आग्रह गरे।
संविधान जारी हुनुभन्दा दुई दिनअघि मोदीको सन्देश लिएर आएका जयशंकरले आन्दोलनरत मधेसकेन्द्रित दल र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आन्दोलनलाई बेलैमा सम्बोधन नगरे यसको प्रभाव मुखैमा आएको बिहारको चुनावमा असर पर्न सक्नेतर्फ सचेत गराएका थिए। उनले बिहार निर्वाचन सम्पन्न भएपछि मात्र संविधान जारी गरिदिँदा राम्रो हुने आशय परोक्ष रूपमा व्यक्त गरेका थिए। आजको नागरिकमा खबर छ ।
nepaliheadlines
