नाकबन्दी खुलाउन र मधेशीसँग सहमति जुटाउन सक्रिय भए प्रचण्ड
१४ असोज, काठमाडौं ।
संविधान जारी गर्न कुनै ढिलाइ गर्न अस्वीकार गरेका एमाओवादी अध्यक्ष प्रचण्ड मधेश आन्दोलन र भारतीय नाकाबन्दीको दोहोरो दवावमा परेपछि भारत र मधेशी शक्तिहरुसँग सहमति जुटाउन सक्रिय भएका छन् ।
प्रचण्डको पहलमा आजै बसेको तीन दलको बैठकले पनि संविधान संसोधन गरेर भएपनि मधेशी दलहरुलाई सहमतिमा ल्याउन पहल गर्ने निर्णय गरेको छ ।
दुई ऐतिहासिक परिघटनाले दुःखी अनुभव गरेको छु- प्रचण्ड
१६ बुँदे सहमति देखि मधेशी दलहरुको साथ छोडेका प्रचण्ड आफ्नै पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी छोडेर मधेशमा गएर गाला जोड्न थालेपछि र भारतले अघोषित नाकाबन्दी गरेपछि दवावमा परेका हुन् ।
प्रचण्डले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आफू विहान ५ बजे देखि उठेर राजनीतिक सहमतिका लागि लागिरहेको बताउँदै खुसी हुनु पर्ने तर २ ऐतिहासिक घटनाका कारण दुःखी हुने अवस्थामा रहेको बताएका थिए ।
प्रचण्डले संविधान जारी भएपछि भारतले लगाएको अघोषित नाकाबन्दी र ३० वर्ष देखि सहकार्य गरेका बाबुराम भट्टराईले पार्टी छोडिदिने घटनाले आफू विक्षिप्त बनेको बताए ।
बुधबार नै आफ्नै निवासमा पुगेका भारतीय राजदूत रञ्जित रेसँग भएको भेटवार्तामा दाहालले आफूले मधेशसँग सहमतिको प्रयास गरिरहेको जानकारी दिएका थिए ।
