उर्जा संकटको बेला खुशीको खबर : सानिमा माईको २२ मेगावाट केन्द्रीय लाइनमा जोडियो

काठमाडौं : इन्धनको चरम अभाव भएको बेला सानिमा माई जलविद्युत आयोजनाको २२ मेगावाट विद्युत राष्ट्रिय प्रशारण केन्द्रमा जोडिने भएको छ। बिहीबार विहानदेखि विद्यूत प्रशारण लाइनमा जोडिन लागेको हो।  इन्धनको अभाव भइरहेको बेला यो उत्पादनले केही राहत दिनेछ। यसअघि ३३ केभिए प्रसारण लाइनबाट जम्मा चार मेगावाट विद्युत मात्रै उपयोग भइरहेको थियो। अब थप १८ मेगावाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए।  

‘प्रशारण लाइनको निर्माण सकियो,  विहीबार विहानबाट सानिमा माई हाइड्रोपावरको उत्पादन १३२ केभिए प्रशारण लाइनमा जोडिन्छ, कार्यकारी निर्देशक काफ्लेले भने, इन्धन अभावको बेला यसले निकै ठूलो सहयोग पुग्नेछ।’ यो प्रशारण लाइन काबेली कोरिडरको पहिलो खण्ड हो। विद्युत प्राधिकरण र आयोजनाका अधिकारीहरु केन्द्रिय प्रशारण लाइनमा विद्युत जोड्न इलाम पुगेका छन्।    प्रशारण लाइन समयमै नबनेको कारण यो आयोजनाबाट उत्पादिन विद्युत करिब छ महिना खेर गयो। गत चैतमै योजनाबाट विद्युत उत्पादन सुरु भएको थियो। स्थानीयको अवरोधका कारण प्रशारण लाइन निर्माण ढिला भएको हो। दुई साता अघिसम्म पनि झापाको लखनपुरमा दुई वटा टावर निर्माण गर्न दिइएको थिएन। प्राधिकरण र जग्गाधनीबीच क्षतिपूर्तिमा सहमति जुटेपछि स्थानीयले तार टांग्न दिएका हुन्। जग्गाधनीलाई मूल्यांकनको २० प्रतिशतसम्म क्षतिपूर्ति दिने सहमति भएको थियो।    सानिमा माई गैरआवसीय नेपाली संघका सस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसमेतको लगानीमा निर्माण भएको आयोजना हो। यही आयोजनाको क्यास्केड निर्माण भइरहेको छ। क्यास्केडबाट चाँडै थप सात मेगावाट विद्युत उत्पादन हुने जानकारी विद्युत प्राधिकरणले दिएको छ।  यो प्रशारण लाइनमा केही महिनाभित्रै थप १७ मेगावाट विद्युत थपिने जानकारी पनि कार्यकारी निर्देशक काफ्लेले दिए। सानिमाको क्यास्केड आयोजना र करिब १० मेगावाटको हेवा खोलाको विद्युत यो लाइनमा थपिनेछ। यो उत्पादनले लोडसेडिङ घटाउन भन्दापनि पुर्वाञ्चलमा भोल्टेज राम्रो हुनेछ।

,

news and entertainment