खेल मैदानमै रेफ्रीले बन्दुक निकालेपछि...
साउपाउलो: खेलकुदमा निर्णायकलाई अनुशासन पालना गराउने महत्वपूर्ण अधिकारीका रूपमा लिइन्छ। तर अनुशासन कायम गराउने निर्णायक नै अनुशासनहीन गतिविधिमा सक्रिय भए, पक्कै पनि त्यसले खेलको गरिमालाई घटाउँछ।
यस्तै दृष्टान्त ब्राजिलको फुटबलमा देखिएको छ। ब्राजिलको क्षेत्रीय एमेच्योर फुटबल लिगका क्रममा गाब्रियल मुर्टा नाम गरेका रेफ्रीले प्रशिक्षकसँग विवाद भएपछि पेस्तोल निकालेर सबैलाई आतंकित पारेका छन्।
प्रहरीले उनलाई पक्राउ गरेको छ। खेलका क्रममा रेफ्री र प्रशिक्षकबीच विवाद भएको थिए। त्यसपछि प्रहरी अधिकृतसमेत रहेका रेफ्री ड्रेसिङ रुममा गएर झोलमा भएको बन्दुक लिएर आएका थिए।
उनले रिसको झोंकमा प्रशिक्षकलाई पेस्तोल ताकेका थिए। तर प्रहरी र मैदानमा रहेका खेलाडीले रेफ्री मुर्टालाई नियन्त्रणमा लिएका थिए ।
प्रहरीले सबैभन्दा पहिले मुर्टाको मानसिक अवस्थाका बारेमा अध्ययन गरिने जनाएको छ।
दोषी पाइएमा उनलाई आजीवन प्रतिबन्ध लाग्न सक्ने स्थानीय फुटबल अधिकारीले बताएका छन्। मंगलबार भएको उक्त घटनापछि ब्राजिलको रेफ्री संघका प्रवक्ता गुलियानो बोजानोले विज्ञप्ति जारी गर्दै त्यसप्रति दुःख व्यक्त गरेका छन्।
घटनापछि ब्राजिलमा रेफ्रीको मानसिक अवस्था परीक्षण गरिनुपर्ने माग पनि उठ्न थालेको छ। ब्राजिलका फुटबलमा रेफ्री हिंस्रक भएको यो पहिलो घटना भने होइन। यसअघि सन् २०१३ मा पनि मैदानमा विवाद भएपछि एकजना रेफ्रीले आवेशमा आई खेलाडीमाथि छुरा प्रहार गरेका थिए।
