भारतलाई सरकारको कूटनीतिक पत्र: किन रोकियो इन्धन ?'

आश्विन १४, २०७२- सरकारले भारतलाई इन्धन र अत्यावश्यक वस्तु नरोक्न आग्रह गर्दै कूटनीतिक पत्राचार गरेको छ । राजदूत रणजित रायलाई बोलाएर जानकारी गराउँदासमेत प्रगति नभएपछि परराष्ट्र मन्त्रालयमार्फत भारतको विदेश मन्त्रालयलाई पत्र पठाइएको हो । पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत बोधार्थ दिइएको छ ।

भारतीय राजनीतिक तहले कर्मचारी स्तरबाट स्पष्ट जानकारी नगएको संकेत गर्दै आफूहरूले इन्धन रोक्ने कुनै निर्णय नगरेको र सीमाबाट सामान गइरहेको बताउँदै आएको छ । भारतलाई वर्तमान र विगतमा हुने गरेको पारवहन अवस्था स्पष्ट हुने गरी औपचारिक पत्र पठाएको परराष्ट्र मन्त्रालय उच्च अधिकारीले बताए । कूटनीतिक माध्यमबाट पठाइएको पत्र भारतीय प्रधानमन्त्री कार्यालयका सुरक्षा सल्लाहकार अजित डोभालसम्म पुगेको छ ।
२०४५ मा भारतले नेपाललाई इन्धन र अत्यावश्यक खाद्यान्न रोक्दासमेत 'नाकाबन्दी' भनेको थिएन । सरकारले अहिलेको अवस्थालाई त्यस्तै रूपमा लिएको छ । पत्रमा सामान्य अवस्थामा भारतबाट आउने प्रक्रिया र ७ दिनयता भारतको सीमामा सामान रोकिएको स्थिति दाँजेर स्पष्ट गरिएको ती अधिकारीले बताए । भारतसमेत हेर्ने दक्षिण एसिया महाशाखा प्रमुख प्रकाश सुवेदीले नाकाबाट सामान लिएर आउने गाडीको अवस्था स्पष्ट गर्दै भारत सरकारलाई कूटनीतिक जानकारी गराइएको बताए ।
परराष्ट्र स्रोतका अनुसार भारतबाट नेपाल आउने सामानको परिमाण र दशगजाको सुरक्षा अवस्था पत्रमा स्पष्ट खुलाइएको छ । भारतबाट 'नाकाबन्दी' नै रहेको अवस्था आफूहरूलाई थाहा नभएको र इन्धनको गाडी छुटेको जानकारी केन्द्रीय स्तरमा पुगेको खबर आएलगत्तै परराष्ट्र मन्त्रालयले अन्तरमन्त्रालय छलफल गरेर पत्राचार गरेको अर्का अधिकारीले बताए । पत्राचारबारे काठमाडौंस्थित भारतीय दूतावासलाई समेत जानकारी दिइएको स्रोतले जनाएको छ । भारतले दशगजा कटाइदिए नेपालमा कुनै समस्या नहुने पत्रमा उल्लेख छ ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजनीतिक र कर्मचारीतन्त्रमा निकै ठूलो 'खाडल' रहेको बताएका छन् । 'राजनीतिक तहमा फरक प्रकारको सूचना जाने र यहाँ कर्मचारी स्तरबाट नै हयान्डल गर्ने पुरानो प्रचलन छ । यो अब परिवर्तन हुँदै जान्छ,' उनले भने । सरकारका तर्फबाट गरिएको पत्राचार उचित भएको उनको भनाइ छ । भारतीय राजदूत रायले बुधबार पत्रकार सम्मेलन गरेर नाकाबन्दी नगरेको, गाडीहरू आइरहेको र काठमाडौंमा भनेजस्तो अवस्था नरहेको दाबी गरेका थिए ।

,

news and entertainment