प्रधानमन्त्री जम्बाे टाेलीसहित चीन प्रस्थान
चैत्र ७, २०७२- प्रधानमन्त्री केपी ओली ८ दिने भ्रमणका लागि आइतबार उत्तरी छिमेकी चीन प्रस्थान गरेका छन् । भारततर्फको परनिर्भरता कम गर्ने उद्देश्य भएको ठानिएको उनको भ्रमणले त्यो चिर्न नसक्ने भएपछि यतिबेला भ्रमण एजेन्डाविहीन झैं बनेको छ । यद्यपि उनको चीन भ्रमण तालिका भारत भ्रमणको जस्तै छ ।
प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल उनको भ्रमण टोलीमा रहेका छन् । यसअलावा प्रधानमन्त्री-पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सरकारमा सामेल र प्रमुख प्रतिपक्ष दलका सांसदसमेत भ्रमण दलमा छन् ।
स्रोतका अनुसार कतिपय व्यक्तिहरू चीन घुम्नकै लागि मात्र भए पनि टोलीमा सामेल छन् । सरकारी व्यक्ति पनि आवश्यकभन्दा बढी रहेको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताए । प्रधानमन्त्रीको औपचारिक टोलीको सदस्य संख्या ५६ पुगेको छ भने व्यापारी र निजी क्षेत्रका ३० देखि ३५ जना व्यक्ति पनि यसमा थपिएका छन् । उनी राष्ट्रिय ध्वजावाहक जहाजको सट्टा संचालनमा नै नआएको निजि विमान कम्पनीक हिमालय एयरलाइन्सको जहाज चढेर चीन प्रस्थान गरेका हुन् ।
यसपटक चीनले नेपाली आतिथ्यमा समेत कम गरेको छ । यसअघि २० भन्दा बढीसम्मलाई आफ्नो खर्च बेहोर्ने चीनले अहिले ११ जनालाई मात्र सरकारी खर्चमा बोलाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग समेत भेटवार्ता गर्नेछन् । उनी गएको भोलिपल्ट नै समकक्षी लीसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।
