आयोजक भारतलाई न्युजिल्यान्डको प्रहार

आयोजक भारतलाई न्युजिल्यान्डको प्रहार
नागपुर– आयोजक भारतको हारसँगै ट्वान्टी–२० विश्वकपको मुख्य चरण (सुपर १०) मंगलबार नागपुरमा सुरु भएको छ। भारतविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतप्रतिसत नतिजाको यात्रालाई निरन्तरता दिने क्रममा सुपर १० को पहिलो खेलमा मंगलबार न्युजिल्यान्डले १ सय २६ रनको योगफललाई रक्षा गर्दै ४७ रनको जित हासिल गर्‍यो।


मिचेल सेन्टनर (४–११) र इस सोधी (३–१८) ले उच्च बलिङ प्रदर्शन गरेपछि न्युजिल्यान्ड भारतमाथि लगातार पाँचौं ट्वान्टी–२० अन्तर्राष्टियमा विजय हासिल गर्न सफल भएको थियो । १८ औं ओभरमा सेन्टनरले विपक्षी कप्तान महेन्द्रसिंह धोनीको विकेट लिएपछि भारतको खेलमा फर्किने आशा समाप्त भएको थियो । १७.४ ओभरमा धोनी आउट हुँदा भारत ७९÷९ को दयनीय अवस्थामा पुगेको थियो । धोनी आउट भएको तीन बलपछि एडम मिल्नेले आशिष नेहरालाई खाता खोल्नै नदिई बोल्ड गरेर भारतको इनिङ ११ बलअघि नै ७९ रनमा सिमित पारेका थिए ।

म्यान अफ द म्याच सेन्टनरले ४ ओभर बलिङ गर्ने क्रममा ११ रन खर्चिँदै ४ विकेट लिँदा ओपनर रोहित शर्मा (५), सुरेशकुमार रैना (१), धोनी (३०) र हार्दिक पाण्डे १)लाई पवेलियनको बाटो देखाए । रोहितलाई ल्युक रोन्चीको हातबाट स्टम्पिङ गराएका सेन्टनरले रैनालाई मार्टिन गुप्टिलबाट क्याच गराएका थिए । त्यस्तै धोनीलाई म्याककलमबाट क्याच गराएपछि पाण्डेलाई एलबिडब्लु धरापमा पारे । यसैगरी ४ ओभरमा १८ रन दिएर सोधीले विराट कोहली (२३), रविन्द्र जडेजा (०) र रविचन्द्र आस्विन (१०) को विकेट लिए । कोहलीलाई रोन्चीबाट क्याच गराएका सोधीले जडेजालाई कट एन्ड बोल्ड गराए भने आस्विनलाई रोन्चीले स्टम्पिङ गरे ।

न्युजिल्यान्डका लागि नाथान म्याककलमले दुई तथा एडम मिल्नेले थप एक विकेट लिए । न्युजिल्यान्डका स्पिनरहरु हावी भएको दिन भारतीय ब्याट्सम्यानहरु घरेलु मैदानमा राम्रो प्रदर्शनबाट चुके । भारतका लागि धोनी, कोहली र आस्विनवाहेक कसैले पनि दोहोरो स्कोर गर्न सकेनन् ।

धोनीले ३० बलमा १ चौका र १ छक्काको साथमा बनाएको ३० रन भारतीय इनिङको सर्वाधिक स्कोर थियो । घरेलु टोलीले ठूलो आश गरेका कोहलीले २७ बलमा दुई चौकासहित २३ रनमात्र बनाउन सके । भारतका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् भने तीन ब्याट्सम्यान एक रनको व्यक्तिगत स्कोरमा पवेलियन फर्किए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले पूरा २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २६ रनको योगफल तयार गरेको थियो । १३ रन जोड्दा दुई तथा ३५ रन बनाउँदा तीन विकेट गुमाइसकेको न्युजिल्यान्डको इनिङ सम्हाल्ने प्रयासस्वरुप कोरे एन्डरसनले ३४ रनको सर्वाधिक योगदान गरेका थिए । एन्डरसनले ४२ बलमा ३ चौका प्रहार गरे । त्यसबाहेक न्युजिल्यान्डका लागि रोन्चीले अविजित २१ रन जोडे भने सेन्टनरले १८ तथा रस टेलरले १० रन बनाए । रोन्चीले ११ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।

भारतका आस्विन, नेहरा, जसप्रित बुम्रा, रैना र जडेजाले एक÷एक विकेट लिए ।
nagariknews

,

news and entertainment