'रोनाल्डोले युरो कपका लागि गोल जोगाएका हुन्'
लिस्बन: युरोकपको पूर्वसन्ध्यामा बुल्गेरियाविरुद्ध भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल १-० गोलले पराजित भएपछि टोलीका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ठूलै आलोचना व्यहोर्नु पर्यो।
समर्थकले रोनाल्डोको कडा आलोचना गरे पनि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले भने उनको बचाउ गरेका छन् । सान्तोषले तीन पटकका फिफा वर्ष खेलाडी रोनाल्डोको बचाऊ गर्दै उनले मैत्रीपूर्ण खेलमा गोल नगरेर युरो कपका लागि गोल जोगाएर राखेको भन्दै ठट्टा गरेका छन् । सान्तोसले रोनाल्डोको उक्त असफलताले आफू दुःखी नभएको बताए।
'रोनाल्डोले बुल्गेरियाविरुद्ध गोल गर्न सकेनन्। खासमा उनले युरोकपका लागि गोल बचाएका हुन्', सान्टोसले भनेका छन् । रोनाल्डोले केही दिनअघि भएको क्लब खेलमा पनि पेनाल्टीको सदुपयोग गर्न सकेका थिएनन्।
रोनाल्डोले युरो कपको छनोट प्रतियोगितामा भने पाँच गोल गरेका थिए। रोनाल्डोले राष्ट्रिय टोलीका लागि हालसम्म एक सय २३ खेल खेलेर ५५ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय फुटबलमा पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्।
पोर्चुगलले हालसम्म युरोकपको उपाधि जित्न सकेको छैन। सन् २००४ को संस्करणमा फाइनलसम्म पुगेको पोर्चुगलले सन् १९८४, सन् २००० र सन् २०१२ को संस्करणमा सेमिफाइनलसम्मको यात्रामात्र तय गरेको थियो। पोर्चुगलले विश्वकपमा पनि हालसम्म सेमिफाइनलसम्म (सन् २००६) सम्मको यात्रामात्र तय गरेको छ।
क्लब फुटबलमा थुप्रै सफलता हात पारिसकेका रोनाल्डोले राष्ट्रिय टोलीबाट भने ठूला सफलता हात पार्न सकेका छैनन्। आगामी युरोकपको समूहगत चरणमा पोर्चुगलले आइसल्यान्ड, अस्ट्रिया र हंगेरीको सामना गर्नेछ।
annapurnapost