काठमाडौंको प्रहरी : विक्रम सिंहको अन्डर ग्राउण्ड अफिस, बरण्डामा सर्वेन्द्र
काठमाडौं– वैशाख १२ को शक्तिशाली भूकम्पपछि काठमाडौंको प्रहरीले गरेको कामको फेहरिस्त उतार्ने हो भने, पत्रिकाका दर्जन पाना भरिन्छन् । म्याच फिक्सिङ, घैंटे प्रकरण, दुगडको कालाबजारी, भेनिसा हत्यकाण्ड, गायिका रेखा शाहको ठगी प्रकरण, १६ युवती ठग्ने जीवन तामाङ प्रकरण जस्ता चर्चित घटनाको सफल अनुसन्धान गरेको काठमाडौं प्रहरीका दुई निकाय ‘महानगरीय अपराध महाशाखा’ र ‘महानगरीय प्रहरी परिसर काठमाडौं’ बर्षदिनदेखि बरण्डा र टेण्टमूनि बस्न बाध्य छन् ।
पहिले ‘हनुमानढोका’ को नामले प्रख्यात काठमाडौं प्रहरीको मुख्यालय गत वैशाख १२ गतेको भूकम्पका कारण बस्नै नमिल्ने भएपछि टेकु सरेको थियो । एक निजी बैंक्वेट र नेशनल ट्रेडिङ लिमिटेडको संरचनामा अस्थायी रुपमा बस्दै आएको काठमाडौं प्रहरीको स्थायी बसोबासको टुंगो अझै लागिसकेको छैन ।
भूकम्पपछि खुल्ला भू–भाग खोज्दै टेकु पुगेको काठमाडौं प्रहरी र अपराध महाशाखा शुरुवाती दिनमा ‘सासा बैक्वेट’मा बसेका थिए । टेकुको मुल सडकसँगै साँध सीमाना जोडिएको नेशनल ट्रेडिङको पछाडीतिर रहेको ‘सासा बैंक्वेट’मा करिब १५ दिन बसेपछि परिसर नेशनल ट्रेडिङमा बस्ने थालेको थियो भने अपराध महाशाखा अहिलेपनि बैंक्वेटमै छ । हनुमानढोकामा एकाघरमा बसेको प्रहरीका यी दुई निकाय अहिले वल्लो घर, पल्लोघरका छिमेकी जसरी अस्थायी दिन काट्दै छन् । दुवैको आँगन एउटै छ ।
विक्रम सिंहको अन्डर ग्राउण्ड अफिस
मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बिक्रम सिंह थापाको कार्यकक्षमा पुग्दा उनी मातहतका निकायलाई ग्याँस र तेलबारे कडा निगरानी गर्न निर्देशन दिँदै थिए ।
धेरैलाई सुन्दा अनौठो लाग्न सक्छ, काठमाडौं प्रहरी प्रमुख विक्रम सिंह थापा अन्डर ग्राउण्ड अफिसमा बसेर काठमाडौंको अपराध नियन्त्रण गर्ने योजना बनाउँछन् । नेशनल ट्रेडिङको भुँइतलामा रहेको थापाको कार्यकक्षमा पुग्न मुल सडकतिरबाट जाँदा एक तला ओर्लनुपर्छ । ‘थुनुवाकक्ष अब्यवस्थित छ, शौचालय भनेजस्तो छैन’ एसएसपी थापाले भने, ‘सिंहदरबार नजिकै नेशनल ट्रेडिङकै यन्त्र विक्री तथा मर्मत केन्द्रमा सर्नका लागी पहल अगाडि बढाएका छौं ।’
लक्ष्मी बैंकले प्रयोग गरेर छाडेको नेशनल ट्रेडिङको भुँइतल्लाबाटै अहिले काठमाडौं प्रहरीको सबै काम हुँदैछ । कार्यालय प्रयोजनका लागी गोदामघर सँगै जोडेर जस्ताको टहरो बनाइएको छ, जसबाट अपराध अनुसन्धानका धेरै काम हुन्छन् ।
बैंक्वेटको बरण्डामा सर्बेन्द्र खनाल
)महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको कार्यकक्ष बैंक्वेटको बरण्डामा रहेको छ । अपराध अनुसन्धानमा ‘काविल प्रहरी’को छवी बनाएका खनालको पुरै टिम सासा बैंक्वेटको बरण्डामा बसेर अपराध अनुसन्धानमा लागेको बर्ष दिन पुग्दैछ ।
‘खुल्ला ठाउँमा बसेर अपराध अनुसन्धान गर्न अलि कठिन हुँदोरहेछ’ एसएसपी खनालले भने, ‘पीडितहरुको आवत–जावत बाक्लो हुँदा हल्ला खल्ला बढी नै हुन्छ त्यसले गर्दा एकाग्र भएर काममा लग्न पाईँदैन ।’
टेण्टमा बास, मच्छड धुपको साथ
महानगरीय प्रहरी परिसरको अस्थायी मुख्यालय टेकुमा दुई सय भन्दा बढी प्रहरी कर्मचारी कार्यरत छन् । हरक्षण ड्युटीमा रहने प्रहरी कर्मचारीहरुले निकै दुःखद तरिकाले रात काट्ने गरेको पाइएको छ । अन्डरग्राउण्ड र जस्ताको टहरोमूनि अफिसीयल काम गर्ने प्रहरीहरु टेण्टमूनि रात बिताउँछन् । खुल्ला ठाउँ र नजिकै बग्ने विष्णुमती खोलाको कारण लामखुट्टेको आक्रमणबाट बच्न मच्छड धुपको साथमा निदाउने गरेको एक प्रहरी जवानले बताए । उनले भने, ‘राती लामखुट्टे लाग्छ, हिजो त हुरीको क्रासले निदाउनै सकेनौं ।’
‘थुनुवा कक्ष, ब्यारेक र अफिस संचालनमा समस्या भएको छ’ परिसरका प्रवक्ता एसपी प्रधुम्न कार्कीले भने, ‘टेण्टमा रात बिताउने प्रहरी कर्मचारीहरुले बर्षातमा पानी, पुसमाघको जाडो झेले, अहिले हुरीको समस्या झेल्दैछन् ।’
एसपी कार्कीका अनुसार परिसरसँग नेशनल ट्रेड्रिङले आफ्नो भवन र जग्गा भोगचलन गरेबापत भाडा माग्न थालेको छ । अब फेरी हनुमानढोका फर्कन संभव छैन । काठमाडौं प्रहरीले आफुले भन्नेपर्ने सवै ठाउँमा भनेपनी हालसम्म स्थायी बसोबासको टुंगो लागेको छैन । नेशनल ट्रेडिङको आँगनमा बनाईएका टेण्टका अस्थायी घरहरुका छानो खुइलिसकेको छ । युनिसेफ लगायतका संस्थाहरुले दिएको करिब दर्जन टेण्टमूनि प्रहरीहरुले गत सालको बर्षात काटे, जाडो झेले अहिले हुरी झेल्दैछन् । अबको बर्षात धान्न निकै कठिन हुने प्रहरीहरु बताउँछन् ।
प्रहरी प्रबक्ता माधव जोशीले काठमाडौं प्रहरीका लागी स्थायी बसोबासको पहल भैरहे पनी बर्षदिन देखी जग्गा फेला नपरेको बताए । रातोपाटीसँग कुरा गर्दै डिआईजी जोशीले भने, ‘परिसर र महाशाखाका लागी थोरै जग्गाले भ्याउँदैन, पायक पर्ने ठाउँमा सरकारी जग्गाको प्रयत्न भैरहेको छ ।’
अपराध महाशाखाले आफूसँग भएका चारवटा टेण्टमध्ये दुईओटामा कार्यालय संचालन गर्दै आएको छ । दुई सय भन्दा बढी महाशाखाका प्रहरीहरु बरण्डामा स्थापना गरेको अस्थायी संरचनामा बसेर उपत्यकाको अपराध अनुसन्धान गर्छन्, टेण्टमूनि रात विताउँछन् । अस्थायी कार्यालयमा परिसर र महाशाखा दुवैले मेश चलाएका छन् भने परिसरमा क्यान्टिनसमेत संचालन गरिएको छ ।
ठाउँ खोज्दै छौं –गृह प्रवक्ता
काठमाडौं प्रहरीको स्थायी बसोबासको ब्यवस्था प्राविधिक कारण ढिला भएको गृह मन्त्रालयका प्रवक्ता यादव प्रसाद कोईरालाले बताए । ‘हनुमानढोकाको भवन भत्किएपछि त्यहि ठाउँमा बनाउन पाइएन’ कोईरालाले भने, ‘जग्गा खोज्न समय लाग्यो ।’
सार्वजनिक खरिद ऐन अनुसार भवन निर्माण कार्य गर्नुपर्ने हुनाले तुरुन्त भवन निर्माणका काम थालनी गर्न नसकिएको उल्लेख गर्दै कोइरालाले भने, ‘तुरन्तै बजेट निकासा पनि नहुने, क्रमागतमा पनि पार्न नसकिने समस्या भयो त्यसैले अबको बजेटमा यो विषयलाई समावेश गर्दै छौं ।’
उनका अनुसार काठमाडौं प्रहरीको भवन निर्माणका लागी अझै जग्गा भेटिएको छैन । ‘अझै ठाउँको खोजीमा छौं’ प्रश्नात्मक शैलीमा कोइरालाले भने, ‘हामी छक्क परेका छौं, काठमाडौंको सरकारी जग्गा कता गयो ?’
ratopati