कमल थापाले औल्याएका यी पाँच खतरा, जसले देश तहसनहस गर्नसक्छ
काठमाडौं, १८ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।
विहीबारदेखि तराईको वीरगञ्जमा सुरु भएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा अबका पाँच वटा खतरा औल्याउनुभएको हो ।
१. नेपालको ईतिहासमा पहिलो पटक सानै रुपमा भएपनि विखण्डनको आवाज उठन थालेकोे छ । आधुनिक नेपाल निर्माण पछिको दुई शताब्दि भन्दा लामो ईतिहासमा अनेकौ राजनैतिक उतार चढावहरु देखा परे, राजनैतिक परिवर्तनहरु भए तर देश टुक्राउने आवाज कतैबाट उठेको थिएन । अहिले विखण्डनकारि आवाज अत्यन्त प्रारम्भिक र नगण्य अवस्थामा रहेको छ । तर, विगतमा एउटा भरुवा बन्दुक र एउटा पेस्तोल बोकेर करिव सयजना जतिले शुरु गरेको कथित जनयुद्ध एक दशक नपुग्दै डरलाग्दो शक्ति बनेको तितो यथार्थ हाम्रो सामुन्ने छ । विगतमा जस्तै केही प्रमुख भनिने राजनैतिक दलहरुको अकर्मण्यता, स्वार्थ र सत्तालिप्साको कारणबाट अहिले निकै सानो हैसियतमा रहेको विखण्डनकारि तत्व कालान्तरमा खतरनाक अवस्थामा पुग्ने हो कि भन्ने अहिले सबै भन्दा ठूलो चिन्ताको विषय बनेको छ ।
२. भारतको राजधानी नंया दिल्लीमा २०६२ साल मंसिरमा भएको बाह्रबुंदे समझदारिको परिणामस्वरुप शुरु भएको बाह्य शक्तिहरुको चलखेल अहिले झन तिव्र हुनपुगेको छ । साथै, नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा बढेर गएको छ ।
३. नेपाली पहिचान र संस्कृति माथी गंभीर अतिक्रमण भैरहेको छ । धर्मनिरपेक्षताको आडमा योजनावद्ध एवं संगठित रुपले धर्म परविर्तन गराउने कार्य तिव्र गतिले जारि रहेको छ । यसबाट नेपालको सनातन धर्म, संस्कृति र पहिचान संकटमा पर्ने खतरा स्पष्ट छ । त्यसैगरि यसबाट परम्परादेखि नेपाली समाजमा कायम रहंदै आएको सामाजिक सांस्कृतिक सदभाव खलबलिई देश धार्मिक दन्दमा फस्ने खतरा बढेको छ ।
४. गत एक दशकमा कायम गरिएको गलत परम्परा, प्रवृत्ति एवं राजनैतिक अभ्यासले प्रजातन्त्रको भविष्यलाई समेत चुनौति दिई रहेको छ । राज्य संचालनमा देखिएको सर्वसत्तावादी चिन्तन, राज्यका विभिन्न अंगहरुको पार्टीकरण, प्रतिपक्षलाई कमजोर बनाउने प्रयास तथा संबिधानका अन्तर्वस्तुहरुमा रहेको अन्र्तविरोधले प्रजातन्त्रको मुलभूत मान्यताहरु कमजोर हुने तथा सर्वसत्तावाद हावि हुने अवस्था सिर्जना हुन सक्दछ ।
५. १० वर्षे हिंसात्मक दन्द र १० वर्षको अस्थिर संक्रमणकालले देशको अर्थतन्त्रलाई गंभीर आघात पु¥याएको छ । अर्थतन्त्रका अधिकांश सुचकहरु उत्साहप्रद रहेका छैनन् । लगानीको वातावरण बन्न सकेको छैन, उद्योग व्यवसाय सुस्त रहेको छ, मुद्रास्फिति बढेको छ, विभिन्न मुलुकहरुसंगको व्यापार घाटा निरन्तर बढि रहेको छ, लोडसेडिंग कम हुन सकेको छैन, भ्रष्टाचार व्यापक भएको छ, वेरोजगारि समस्या विकराल छ, तथा गरीब र धनी बिचको खाडल विगतको तुलना अझै ठूलो हुंदै गैरहेको छ । समग्रमा देशको आर्थिक अवस्था संकटग्रस्त छ, केवल रेमिट्यान्समा अर्थतन्त्र अढेको छ ।
मुलुकको भविष्यप्रति निराश वा विचलित हुनु आबश्यक नभएको बताउनुहुँदै उहाँले भन्नुभएको छ– ‘नेपाली जनताको राष्ट्रप्रेम, बढदो र जागरुक युवा जनशक्ति, कठिन अवस्थामा पनि धैर्य र साहसका साथ काम गर्ने नेपाली चरित्र तथा मुलुकमा विद्यमान अपार सम्पदा र संभावनाको कारणबाट नेपालको उज्वल भविष्य प्रति सदैव आशा गर्न सकिन्छ ।’
dainiknepal
