विराट कोहली टी-२० का एक नम्बर ब्याट्सम्यान

एजेन्सी: भारतमा चलिरहेको विश्वटी-२० मा उत्कृष्ट प्रदर्शन गरिरहेका विराट कोहली आईसीसीको टी-२० र्याङ्किङमा नम्बर वान ब्याट्सम्यान बन्न सफल भएका छन् ।


हारबाट शुरुवात गरेको भारतलाई सुपर टेनका तीन खेल जिताउँदै सेमिफाइनलमा पुर्याउने क्रममा कोहलीले उत्कृ‌ष्ट प्रदर्शन गरेका थिए ।


भारतले बिहीबार हुने सेमिफाइनलमा वेस्टइन्डिजसँग प्रतिस्पर्धा गर्दैछ ।

जारी विश्कपममा उत्कृष्ट फर्ममा रहेका विराट कोहलीले तीनवटै म्याचमा भारतलाई जिताउने क्रममा निर्णायक भूमिका निभाएका छन् ।

आईसीसीको नयाँ र्‍याङ्किङमा पहिलो नम्बरमा रहेका विराट कोहलीले ९२ रनको औसतमा १८४ रन बनाइसकेका छन् । विश्व टी-२० अघि विराट कोहली र्‍याङ्किङमा दोस्रो नम्बरमा रहेका थिए भने पहिलो नम्बरमा अस्ट्रेलियका एरोन फिन्च रहेका थिए ।

त्यो बेला फिन्च कोहली भन्दा २४ अंकले अघि थिए । तर अहिले कोहलीले फिन्चलाई त्यसको तीनगुणा बढी अंकले उछिनेका छन् । कोहली अहिले फिन्च भन्दा ६८ अंकले अघि रहँदै पहिलो नम्बरमा उक्लेका हुन् ।

टी-२० को शीर्ष दसको सूचीमा भारतबाट कोहली बाहेक अन्य कुनै खेलाडी छैनन् ।

यो र्‍याङ्किङमा न्यूजील्यान्डका मार्टिन गुप्टिल राम्रो प्रदर्शन गर्दै तेस्रो नम्बरमा उक्लेका छन् । उनी यसअघि पाँचौ नम्बरमा थिए । एक म्याचमा विस्फोटक पारी खेलेका क्रिस गेल छैटौं नम्बरमा रहेका छन् ।

तर बलिङमा भने भारतले झट्का बेहोरेको छ। पहिलो नम्बरमा रहेका आर अश्विन अब तेस्रो नम्बरमा पुगेका छन् । वेस्टइन्डिजका स्यामुएल बद्री पहिलो नम्बरमा उक्लेका छन् ।

भारतका रविन्द्र जडेजा सातौं नम्बरमा रहेका छन् । यता टीमतर्फ टी-२० र्‍याङ्किङमा भारतीय टीम पहिलो नम्बरमा रहेको छ । दोस्रो नम्बरमा न्यूजील्यान्ड र तेस्रो नम्बरमा वेस्टइन्डिज रहेको छ ।
annapurnapost

,

news and entertainment