प्रधानमन्त्री ओलीको चीन भ्रमणमा निजी विमान लिनुको यस्तो रहस्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली नयाँ निजी विमान कम्पनी हिमालय एयरलाइन्सको विमान चार्टर गरी चीन भ्रमणमा निस्कने भएपछि विमान कम्पनिका मालिक र प्रधानमन्त्री ओलीविचको सम्बन्धलाई लिएर शंका गर्न थालिएको छ ।

दिल्ली भ्रमणका क्रममा नेपाली राष्ट्रिय ध्वजाबाहक विमान नेपाल एयर लाइन्सले आधा घण्टा ढिलाइ गरेको भन्दै कारवाही गर्न निर्देशन दिएका ओलीले यसपटकको चीन भ्रमणमा न त चीनको विशेष विमान स्विकार गरे न त राष्ट्रिय ध्वजावहाक विमान चढ्न आवश्यक नै ठाने ।

चीन भ्रमणको क्रममा सरकारी विमान अस्वीकार गर्दै प्रधानमन्त्री ओली आइतबार नेपाल वायु सेवा निगमको सट्टा उडानसमेत शुरु नगरेको निजी विमान कम्पनीको विमान चार्टर गरी जाने भएका हुन् ।

आफ्नो ब्यवसायिक उडान शुरु गर्ने तरखरमा रहेको हिमालय एयरलाइन्सले पहिलो पटक प्रधानमन्त्री ओलीको चार्टर गर्ने सौभाग्य पाउने भएको छ । हिमालय एयरलाइन्सले आगामी चैत ३० देखिमात्रै व्यवसायिक उडान शुरु गर्दैछ ।
हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि १५८ सिट क्षमताको एयरबस ए ३२० जहाज खरिद गरेको छ । यो जहाजले अहिलेसम्म अन्तर्राष्ट्रिय उडान गरेको छैन । यो विमानले पहिलो पटक प्रधानमन्त्रीलाई चार्टर गरी अघोषित ब्राण्ड एम्बेस्डर बनाउने भएको छ । प्रधानमन्त्री ओलीले सरकारी विमानको वेवास्ता गरी निजी विमानलाई चार्टर गरी लैजाने निर्णयप्रति निगमका कर्मचारीले असन्तुष्टी छन् ।

चीन भ्रमण हिमालय एयरलाइन्सको विशेष विमानबाट हुने भएकाले भीभीआईपीको उडानका लागि हुनुपर्ने आवश्यक सवै व्यवस्था मिलाउन पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिइसकेको छ ।

प्रधानमन्त्री ओली ५६ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार विहान ११ बजे हिमालय एयरलाइन्सको विमानबाट बेइजिङ जाने कार्यक्रम छ । उनी चैत्र १४ मा छेन्दुबाट काठमाडौं फर्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार निगमसँगको असन्तुष्टी जनाएर प्रधानमन्त्री ओलीले आफ्ना नजिकमा मित्र तथा निजी विमान कम्पनी सञ्चालक आङछिरिङ शेर्पाको नयाँ विमानको प्रवद्र्धन गर्न चाहेका हुन् ।

यति एयर लाइन्स र तारा एयरका मालिक आङछिरिङ शेर्पा हुन् । उनै शेर्पा र अर्का नेपाली व्यावसायी पृथ्वी बहादुर पाण्डेको ५१ प्रतिशत शेयर रहेको हिमालय एयरलाइन्स हो । निजी विमान कम्पनीका मालिक शेर्पा र प्रधानमन्त्रीबीचको

घनिष्ठताकै कारण निगमको विमानलाई रुष्ट भएजस्तो देखाएर उनी निजी विमानको प्रवद्र्धनमा लागेको एमालेकै नेता कार्यकर्ताले आलोचना गरेका छन् ।

शेर्पा र ओलीविच लामो समयदेखि राम्रो सम्बन्ध कायम रहेको छ भने शेर्पाले नेपालमा तारा र यति लाईन्स संचालन गर्दा कैंयन उड्ययन नियम मिच्ने गरेका छन् । यसअघि शेर्पाकै दवावमा नेपाली आकाशमा सिङ्गल इन्जीनको जहाजले उडान संचालन अनुमति पाएको थियो । पछिल्लो समय एमालेले सरकारमा सहभागीता जनाएयता शेर्पाले भनेकै नेता पर्यटन तथा उड्ययन मन्त्री बन्ने गरेको समेत एमाले वृतमा चर्चा छ ।

एक एमाले नेताले भन्छन्–राष्ट्रवादको पगरी गुथ्न हतारिएका ओलीले किन ध्वजावहाक विमानलाई वेवास्ता गरेका ?

अघिल्लो कोईराला सरकारमा शेर्पाकै असन्तुष्टीका कारण पर्यटनमन्त्री भीम आचार्यलाई हटाएर दीपक अमात्यलाइ पर्यटनमन्त्री बनाइएको थियो ।

नेपाली आकाशमा एकछत्र राज गदै आईरहेको यति एयर लाइन्सले चाहेजस्तै एमाले सरकारमा सहभागी भएको अवस्थामा पर्यटन मन्त्री र मन्त्रालय एमालेसँगै राख्ने गरिएको समेत एमाले कार्यकर्ताको आरोप छ । अझ एमाले कार्यकर्ता झन ठुलो आरोप छ–ओली शेर्पाका व्यावसायिक साझेदार हुनसक्छन् ।

शेर्पा समेत ओलीको चीन भ्रमण दलको सदस्यमा व्यावसायिका तर्फबाट परेका छन् ।.khabardabali

,

news and entertainment