तातोपानीमा नुहाउनेको घुइँचो

चैत्र २८, २०७२- प्राकृतिक रूपमा रहेका यहाँका तातोपानी पोखरीमा डुब्दै विभिन्न रोगको उपचार गर्ने बिरामी यतिबेला बढेका छन् ।

म्याग्दी खोला किनारका मुदी र सिंगा, राहुघाट नदी किनारको दग्नाम र कालीगण्डकी किनारका दोवा, घारको रातोपानी, भुरुङ र पाउद्वारको गनपानस्थित तातोपानीका पोखरीमा भीड छ । फागुनदेखि वैशाखसम्म तातोपानीमा डुब्ने उपयुक्त मौसम मानिन्छ ।


‘न जाडो न बढी गर्मी सिजन भएकाले टाढा–टाढाबाट मान्छे आएका छन्,’ घार पोखरेका खण्ड गिरीले भने, ‘मान्छे धेरै भएर बस्तीमा बास नपाउनेहरू भीरपहराको ओडारमा पनि बसेका छन् ।’ सहरमा उपचारबाट लाभ महसुस नगरेकाहरू, पुराना रोग भएका र सहरका अस्पताल पुग्न नसकेकाहरू यहाँ आएको उनले बताए ।

धौलागिरि हिमालको फेदीमा झन्डै ४ हजार मिटर उचाइमा अवस्थित गुर्जा र मुदीको सिमानामा रहेको पोखरी जिल्लाकै अग्लो स्थानको तातोपानी हो । यहा स्थानीयबाहेक धौलागिरि आरोहण वा फन्को मार्ने र भिलेज पदमार्गमा आउने पर्यटकले समेत नुहाएर आनन्द लिने गरेका छन् ।

यी स्थानमा रूख तथा भीरबाट लडेर हाडजोर्नी मर्केका र चोट लागेका बेला, पेटसम्बन्धी र छालाका रोगको उपचार गर्न डुब्ने गरिन्छ । पछिल्ला केही वर्षदेखि अर्थोपेडिक उपचारबाट हरेस खाएकाहरूसमेत यहाँको पानीमा डुब्ने गरेका छन् ।

३६ वर्षअघि भैंसीले हानेर घाइते भएपछि ठूला अस्पताल धेरै चहारियो । झन् दुवै हातखुट्टा चल्न छाडे,’ १५ वर्षदेखि थलापरेको बताउने चितवन माडीका ६२ वर्षीय कृष्णबहादुर घलेले भने, ‘तातोपानीमा डुबेपछि निको हुन्छ भन्ने सुनेपछि आएको हुँ । २५ दिन डुब्दा धेरै आराम भइरहेको महसुस गरेको छु ।’

जिल्लाका सात वटा स्थानमध्ये सिंगा तातोपानी पोखरी बढी व्यवस्थित छ । भुरुङ तातोपानी विदेशी एवं आन्तरिक पर्यटकलाई बढी लक्षित गरिएको छ । पाउद्वारको नुनिलो तातोपानी, दोवा, दग्नाम र मुदीका परम्परागत साना पोखरी व्यवस्थित हुन बाँकी छन् । स्थानीय एवं छिमेकी गाउँका बिरामी बढी डुब्ने यी तातोपानीमा आवास क्षेत्र नभएकाले आगन्तुकहरू भीर तथा ओडारमा बस्न बाध्य छन् ।

‘बस्तीदेखि अलि टाढा अस्करे भीरको जरोमा राहुघाट खोला र पाखापानीको झरना छेउमा तातोपानी छ । भीरको ओडारमा बस्नुको विकल्प नै हुँदैन,’ पाखापानीका हरिबहादुर पाइजाले भने, ‘यहाँको तातोपानीमा वास्तविक बिरामी र बढी आँट भएका बिरामी समूहमा मात्र बस्न सकिन्छ ।’

तातोपानीका मुहानहरू स्थानीयको रोग निको पार्ने प्राकृतिक अस्पताल मात्र भएका छैनन्, स्थानीय विद्यालय सञ्चालन, बस्ती एवं संस्कृति संरक्षण, युवा क्लबको आर्थिक स्रोत पनि भएका छन् ।

सिंगा र भुरुङ तातोपानीको आम्दानीबाट मावि तहमा ३/३ जना शिक्षकलाई तलबभत्ता दिइएको छ । विद्यालयको भौतिक पूर्वाधारमा समेत लगानी गरिएको छ । बेनी नगरपालिकाले समेत वार्षिक १० लाख कर लिने गरेको छ ।

‘यहाँबाट उठेको रकममध्ये ७५ प्रतिशत विद्यालयमा र २५ प्रतिशत तातोपानीको पोखरी तथा मूल संरक्षणमा खर्च गर्ने गरिएको छ । आवश्यक पर्‍यो भने संरक्षण खर्च कटाएर पनि विद्यालयमै खर्च गर्ने गरेका छौं’, सर्वोदय मावि भुरुङ तातोपानीका शिक्षक–अभिभावक संघका अध्यक्ष श्याम रानाले भने ।
ekantipur

,

news and entertainment