यौनसम्बन्ध राख्न नपाएपछि सल्यानमा दिदी बहिनीसहित एकै परिवारका चारको हत्या
सल्यान, १६ वैशाख । सल्यानमा मंगलबार राति एकै परिवारका चार जनाको हत्या यौन सम्बन्ध राख्न नपाएपछि भएको खुलेको छ ।
त्यो राति भारतीले मदिरा सेवन गरेका थिए र उनी नशामा थिए । भारतीले मादक पदार्थ सेवन गरेको र यौन सम्पर्क नपाएपछि भैँसी बाँध्ने किलाले पालैपालो चारै जनाको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।
उक्त घटनामा रानागाउँका रमेश खान ठकुरीकी २३ वर्षीया श्रीमती सीता, तीन वर्षीया छोरी पवित्रा, एक वर्षीया सविता र दिदीको घरमा आएकी शारदा नगरपालिका–१० मार्केकी १८ वर्षीया गीता गिरीको हत्या भएको थियो ।
ठकुरी वैदेशिक रोजगारीका सिलसिलामा भारतमा छन् ।
पक्राउ परेका भारतीमाथि कर्तव्य ज्यान मुद्दामा कारवाही प्रक्रिया अघि बढाइने सल्यानका डीएसपी श्याम खत्रीले पत्रकार सम्मेलनमा बताए ।
यसरी भयो पालैपालो हत्या
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भूपेन्द्र घर्तिमगरका अनुसार मादक पदार्थ सेवन गरेर आएका भारतीले मृतक सीता र उनकी बहिनी शारदासँग यौन सम्बन्ध राख्न खोज्दा विवाद भएको थियो । पहिला सीतासँग सम्बन्ध राख्न खोज्दा उनले प्रतिवाद गरेपछि भारतीले उनको हत्या गरे । त्यसपछि उनकी बहिनी गीतासँग सम्बन्ध राख्न खोजे । उनले पनि प्रतिवाद गर्न खोजेपछि गोठबाट ल्याइएको भैँसीको किलाले अन्धाधुन्ध प्रहार गर्दा ज्यान गयो । त्यसपछि आफूलाई चिन्ने डरले दुई वर्षीय बालिकालाई हान्दा ११ महिने बालिकाको मृत्यु भयो । अन्तिममा दुई वर्षीय बालिकाको पनि हत्या गरे ।
‘पहिलो प्रहार सीतामाथि गरे, त्यसपछि उनकी वहिनी अनि दुई नाबालकलाई पालैपालो प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको छ’, प्रहरी नायव निरीक्षक घर्तिमगरले भने ।
यसैगरी भारतीले पहिला एक ६० वर्षीय वृद्धासँग सम्बन्ध राख्न खोजेका थिए । तर, प्रतिवाद भएपछि बृद्धालाई घाइते बनाएर सीताको घर पसेका थिए ।
भुन्टी नामको कुकुरले पत्ता लगायो हत्यारा
एकै परिवारका चार जनाको हत्या गर्ने सञ्जय भारती घरमा लुकेर बसेका थिए । उनलाई खोज्न प्रहरी आफै खटिएका थिए । चार जना हत्या भएको घटनास्थल र सुरुमा आक्रमणमा परेर घाइते भएकी ६० वर्षीया महिलाको घरबाट प्रहरीले अनुसन्धान तथा सञ्जयको खोजी सुरु गरेको थियो ।
त्यसक्रममा प्रहरीले घटनास्थल नजिकै रहेका सञ्जिव भारतीलाई सुरुमै पक्रियो । उनलाई पक्राउ गरिसकेपछि घटनाको थप अनुसन्धानको लागि कोहलपुरबाट कुकुरसहितको प्रहरी टोली सल्यान आइपुग्यो ।
भुन्टी नामको कुकुर घटनास्थलमा भेटिएको रगतको आधारमा पछ्याउँदै संजय भारतीको घरसम्म पुग्यो र त्यही रोकियो । त्यसैको आधारमा घटनाका अभियुक्त उनै हुन भन्ने पत्ता लाग्यो र उनलाई घरभित्रैबाट पक्राउ गरियो ।
सुरुमा पक्राउ गरिएका सञ्जिवलाई छाडियो ।
dainiknepal
