पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलन्यास, ४ बर्षमै बन्ने

विमानस्थलको शिलन्यास गर्दै प्रधानमन्त्री। तस्बिर शौजन्य: सुदर्शन रञ्जितविमानस्थलको शिलन्यास गर्दै प्रधानमन्त्री। तस्बिर शौजन्य: सुदर्शन रञ्जित
पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास गरेका छन्। उनीसँग प्रमुख दलका नेताहरुले पनि इटा राखे। कांग्रेस महामन्त्री सशांक कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छेदार र कमल थापाले संयुक्तरुपमा इटा राखेर शिलन्यास गरेका थिए।


सवै दलका नेताले शिलन्यासमा इटा राख्नु सबै एक मतका साथ विमानस्थलको निर्माण सम्पन्न गर्न चाहनन्छन् भन्ने सन्देश भएको प्रधानमन्त्री ओलीले बताए। ओलीले ४ बर्ष पछिको नयाँ बर्षमा विमानस्थल सम्पन्न हुने उनले बताए। उनले निर्माण कम्पनी कम्पनि चाइना सिएएमसीइसँग त्यो भन्दा छिटो काम सक्ने अपेक्षा लिएको बताए।

प्रधानमन्त्री ओलीले केरुङ देखि काठमाडौं, काठमाडौं देखि पोखरा र पोखरा लुम्विनी रेलमार्ग निर्माणमा पनि चीनले सहयोग गर्ने अपेक्षा राखे। प्रधानमन्त्री पोखरा विमानस्थल रेकर्डको लागि शिलन्यास नभएको बताए। 'यो रेकर्डको लागि शिलन्यास भएको होइन', उनले भने, 'कामको लागि शिलन्यास भएको हो र यो सरकारले शिलन्यासको रेकर्डमा विश्वास राख्दैन।'

प्रधानमन्त्रीले विमानस्थलको शिलन्यास रनवेबाट भएको बताउँदै यो वर्ष विकासका कार्यक्रमहरु पनि जहाज दौडदाँ झै अघि बढ्ने भनाई व्यक्त गरे।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै तिरबाट सहयोग भएर आज पोखरा विमानस्थ सम्भव भएको बताए। उनले आफू प्रधानमन्त्री हुँदै प्रक्रिया सुरु भएको समेत बताए। दाहालले आफ्नो चीन भ्रमणको बेला नै यसको प्रक्रिया थालेको बताए।
यस्तो हुनेछ विमानस्थल
विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लाग्ने अनुमान छ। चाहिनेजति रकम अर्थ मन्त्रालयले चीनको 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति भइसकेको छ ।

चार दशकअघि पोखरा–१४, १५ र १८ वडाका ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुग्ने देखिएपछि थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

चीनले ऋणको २५ प्रतिशत निब्र्याजी र बाँकी ७५ प्रतिशत रकम दुई प्रतिशत ब्याजदरमा उपलब्ध गराउने सहमति भइसकेको छ । निब्र्याजी रकमपछि अनुदानमा परिणत हुन सक्ने आयोजनाको आशा छ ।

पोखरामा विमानस्थल बनाउन करिब दुई वर्षअघि चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । प्राधिकरण र सिएएमसिइबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डययन अर्गनाइजेसन)को मापदण्ड अनुसार 'फोरडी' मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।

इपिसी मोडलमा बन्ने भएकाले ठेकेदारले चार वर्षपछि सरकारलाई विमानस्थल हस्तान्तरण गर्नेछ । फोरडी विमानस्थलबाट बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उडान गर्न सक्नेछन् । २५ सय मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग हुने विमानस्थलमा एकपटकमा आधा दर्जनभन्दा बढी ठूला जहाज पार्किङ गर्न मिल्नेछ।
nagariknews

,

news and entertainment