यी हुन डीएसपी नै ठेगान लगाउने गुण्डा नाइके, सर्टगनसहित सानेपाबाट पक्राउ

काठमाडौं, २४ चैत । नेपाल प्रहरीका डीएसपीदेखि इन्सपेक्टरसम्म फसाउने गुन्डा नाइके विश्वक्रान्ति सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न हतियारसहित पक्राउ परेका गुण्डा सिंहलाई बुधबार ललितपुर प्रहरी परिसरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सिंहलाई महानगरी प्रहरी परिसर ललितपुर र अपराध शाखा जावलाखेलको संयुक्त टोलीले मंगलबार सानेपाबाट पक्रेको थियो ।

पत्रकार सम्मेलनमा ललितपुरका प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले सिंह लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेको र कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।
हेटौंडा घर भई उपत्यकामा गुण्डागर्दीमा संलग्न सिंहले अवैध रुपमा हातहतियार खरखजाना समेत साथमा लिई ठेक्कापट्टाहरुबाट असुली गर्ने, ब्यबसायीहरुलाई धम्की दिँदै रकम असुली गर्ने, लेनदेनको रकम असुली गरेर कमिशन लिने, ग्याङ्ग फाईटमा संलग्न हुने, लागुऔषधको कारोबार गर्ने, हाउजिङ्ग ब्यबसायीहरुलाई धम्की दिई रकम असुली गर्ने, जनमानसमा डर र त्रास फैलाई आतंकित पार्ने गरेका थिए ।
केही महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा समेत परेका सिंहले ललितपुर प्रहरीका तत्कालिन प्रवक्ता डीएसपी दयानिधी ज्ञवालीसहितका प्रहरीलाई घुस दिएर फसाएका थिए । प्रहरीलाई घुस दिन मध्यस्थकर्ताको भूमिका खेलेको भन्दै उनी पनि पक्राउ परेका थिए । पछि अख्तियारले उनलाई छाडेको थियो ।
पक्राउ परेका सिंहको सानेपामा रहेको घरकोठाको फ्ल्याटमा खानतलासी लिँदा १ नाल सर्टगन, २८ राउन्ड गोली, १०६३६ नम्बरको ३७५ बोरको १ नाले राईफल नाल १, १३० राउण्ड गोली, खैरो हिरोइन जस्तो धुलो पदार्थका पाकेटहरु, यूयान लेखिएको १०० दरका २ थान चाईनिज नोट, यूयान लेखिएका ५०, २०, १० र १ दरको १–१ थान चाइनिज नोट, सेतो प्लाष्टिकको बट्टाभित्र राखिएको एक थान सी हर्स, २ थान राहदानी, २ थान तमसुक र एक थान कोर्रा फेला परेको ललितपुर प्रहरी प्रवक्ता किशनसिंह थापाले जानकारी दिए ।
dainiknepal

,

news and entertainment