सन्दीप हङकङमा खेल्ने

वैशाख १७, २०७३- नेपालका सनसनी युवा लेग स्पिनर सन्दीप लामिछानेले हङकङमा क्रिकेट खेल्ने भएका छन् । हङकङमा पहिलोपटक आयोजना हुन लागेको हङकङ ब्लिज प्रतियोगितामा १६ वर्षे सन्दीपले खेल्न लागेका हुन् ।

मे २७ देखि २९ सम्म हुने ट्वान्टी–२० संरचनाको हङकङ ब्लिजमा रुड बार आइल्यान्ड वारियर्स, कावलुन क्यान्टोन्स, हुङ होम जेडी जगुवार र गि लान्टाउ ग्लालेक्सी रायडर्सले प्रतिस्पर्धा गर्नेछन् । सन्दीपले विदेशी खेलाडीका रूपमा कावलुनबाट खेल्नेछन् ।


सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) लाई यसबारे जानकारी गराइसकेको र आफू हङकङ गएर खेल्नका लागि उत्सुक रहेको बताए ।

‘यो मेरा लागि धेरै राम्रो अवसर हो, हङकङमा पहिलोपटक यस्तो प्रतियोगिता हुन लागेको रहेछ, त्यसमा खेल्न बोलाएकामा पहिला त मलाई विश्वास नै लागेन,’ गृहनगर चितवनबाट सन्दीपले कान्तिपुरसँग भने, ‘उनीहरूले पारिश्रमिक दिन्छु भनेका छन्, त्यसको विवरण खुलाएका छैनन् ।’

सन्दीपको टिम कावलुनको कप्तानमा ब्रिटिस खेलाडी स्कोट म्याककेच्नी छन् । उनले नै हङकङमा खेल्ने व्यवस्था मिलाएको सन्दीपले बताए ।

विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नोभेम्बरमा नेपाल आएको थियो । म्याककेच्नी एमसीसीका विकेटकिपर थिए । त्यही क्रममा सन्दीपको उनीसँग चिनजान भएको थियो । एमसीसीको नेपाल भ्रमणका क्रममा सन्दीपले ३ खेलमा ७ विकेट लिएका थिए ।

सन्दीपले जनवरी–फेब्रुअरीमा बंगलादेशमा आईसीसी यू–१९ विश्वकपमा १४ विकेट लिएका थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

उक्त क्रममा उनले आयरल्यान्डसँगको खेलमा ह्याट्रिक गरेका थिए । दुई साताअघि उनले राष्ट्रिय टिमबाट ‘डेब्यु’ गर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्व कीर्तिपुरमा खेलेका थिए । नामिबियासँग उनले २ खेलमा ३ विकेट लिएका थिए ।

नोभेम्बरमा नेपाल च्याम्पियनसिपको खेल खेल्न हङकङ नै जाँदैछ ।

‘हङकङको क्लब क्रिकेट मेरा लागि ठूलो अनुभव हुनेछ, विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङसँगको खेल अगाडि मलाई त्यहाँको कन्डिसनका बारेमा थाहा हुनेछ,’ सन्दीपले भने, ‘तिनीहरूका ब्याट्सम्यानबारे पनि थाहा पाउनेछु ।’ सन्दीपको अस्ट्रेलियाको बिग बासमा खेल्ने ठूलो लक्ष्य छ, त्यसमा हङकङको अनुभवले केही सहयोग पुग्ने विश्वास उनको छ ।

हङकङ राष्ट्रिय टिमका अस्ट्रेलियाली खेलाडी रायन क्याम्पवेल कावलुनका खेलाडी एवं प्रशिक्षक छन् ।

सन्दीपले कावलुनमा म्याककेच्नी, क्याम्पवेलसहित बाबर हायत, तानभिर अहमद, नजिब अमार र सिमनद्दिप सिंह लगायतका खेलाडीसँग खेल्नेछन् । हङकङ क्रिकेटका प्रमुख कार्यकारी अधिकृत टिम कुटलर पनि कावलुनमा आबद्ध खेलाडी हुन् ।

ekantipur

,

news and entertainment