भारतले मासिक ३७ हजार मेट्रिक टन ग्यास दिने

काठमाडौं: नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग मासिक ३७ हजार मेट्रिक टन ग्यास आपूर्ति गर्न लिखित सम्झौता गरेको छ। आईओसी र निगमको कोलकात्तामा सम्पन्न क्षेत्रीय स्तरको बैठकमा भारतीय पक्षले मासिक नेपाललाई ३७ हजार मेट्रिक टन ग्यास आपूर्ति दिने लिखित सम्झौता गरेको हो।

निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार नेपालले माग गरेको यो परिमाणको ग्यास आईओसीले आगामी मे महिनादेखि नेपाललाई उपलब्ध गराउनेछ।



उनका अनुसार निगमले आईओसीसँग बरौनीबाट १३ हजार, हल्दियाबाट १७ हजार र मथुराबाट सात हजार गरी ३७ हजार मेट्रिक टन ग्यास माग गरेको छ । 'हामीले स्थान तोकेर मागेको परिमाण सोही स्थानबाट उपलब्ध गराउन आईओसीले लिखित प्रतिवद्धता जनाएको छ', उनले भने, 'क्षेत्रीय स्तरबाट नभए केन्द्रीयस्तरबाट भएपनि हाम्रोअनुसार परिमाण उपलब्ध गराउन द्विपक्षीय सम्झौता भएको छ।'

भारतमै अहिले वर्तमान सरकारले दाउरा र गोबरको गुइँठा हटाउ एलपीजी ग्यासको प्रयोग गर भन्ने अभियान सुरु गरेकाले स्थानीय बजारमै ग्यासको करिब २० देखि ३० प्रतिशतको हाराहारीमा माग वृद्धि भएको अवस्थामा नेपालले पनि नियमित मागभन्दा बढी परिमाणमा माग गरेका कारण आईओसीलाई उपलब्ध गराउन समस्या देखाए पनि अन्ततः केन्द्रीय स्तरबाट परिचालन गरेर मागअनुसार उपलब्ध गराउने गत सोमबार प्रतिवद्धता जनाएको छ।

सामान्य समयमा नेपालको २५ देखि २६ मेट्रिक टनको माग भए पनि नाकाबन्दी र मधेस आन्दोलनका कारण माग र आपूर्तिबीचको खाडलाई पुर्न निगमले अहिले नेपाली महिनाअनुसार मासिक साढे २७ हजार मेट्रिक टनसम्म ग्यास भित्र्याइरहेको छ।

बैठकमा बरौनी, हल्दिया, रक्सौंल, वीरगञ्ज र विराटनगरका डिपो प्रमुखका साथै निगमका निमित्त निर्देशकद्वय वीरेन्द्र गोइत र मुकुन्द घिमिरेले सहभागिता जनाएका थिए। बैठक इन्धन आपूर्ति व्यवस्थापनमा स्थानीय स्तरमा उत्पन्न हुने समस्यालाई दुवै मुलुकले संयुक्तरूपमा समाधान गर्न विषयमा केन्द्रित थियो।

 ट्यांकर र बुलेटको अवस्था, संस्था, दैनिक हुने लोड र अनलोड, बाटोमा बिग्रने मर्मतसम्भार, माग र आपूर्तिलगायतका विषयमा बैठक केन्द्रित थियो।
निजी उद्योगले भने अहिलेको ग्यास अभावको समस्या समाधान गर्न मासिक ६० देखि ६५ हजार मेट्रिक टन भित्र्याउनुपर्ने माग गर्दैआएका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले भने नाकाबन्दी र आम हडतालले माग र आपूर्तिबीच बढेको ठूलो खाडललाई पुर्न र वार्षिक १५ देखि २० प्रतिशतका दरले वृद्धि हुने मागलाई सम्बोधन गर्न कम्तीमा चार महिनासम्म ६५ हजार मेट्रिक टनको हाराहारीमा ग्यासको आपूर्ति गर्नुपर्ने माग राख्दै आएका छन्। 'यो परिमाणमा ग्यास भित्र्याउन नसकिए एक वर्षमा पनि ग्यासको हाहाकार समस्यालाई समाधान गर्न सकिन्न', घिमिरेले भने।

निगमका अनुसार वैशाखको पहिलो सातासम्म ६ हजार तीन सय २१, गत चैतमा २७ हजार तीन सय ४८, फागुनमा २१ हजार ६ सय ८५, माघमा १४ हजार एक सय ९९, पुसमा नौ हजार १०, मंसिरमा चार हजार २९ र गत कात्तिकमा पाँच हजार १३ मेट्रिक टन ग्यास आपूर्ति भएको थियो। नेपालमा भित्रिने कुल ग्यासको ६० प्रतिशत उपत्यकामा र ४० प्रतिशत उपत्यकाबाहिर खपत हुन्छ।

रक्सौलमा मौज्दात सकिँदा नेपालमा प्रभाव

रक्सौलबाट दुई दिन नियमित रूपमा इन्धन आपूर्ति नहुँदा पछिल्लो समयमा नेपालको स्थानीय बजारमा इन्धनको अभावजस्तै बनेको छ। रक्सौलबाट नियमितरूपमा इन्धन आपूर्ति नहुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालको पेट्रोल पम्पमा परेको थियो। यसका कारण पम्पमा उपभोक्ताको लामो लाइन बढ्नुका साथै भनेको समयमा इन्धन पाउन समस्या भएको थियो।

निगमका अनुसार रक्सौलको डिपोमा भएको दुईवटा स्टोरेज ट्यांकरमध्ये एउटाको सफाइका लागि गत बुधबार र बिहीबार बन्द गरिएको थियो। बाँकी रहेका अर्को स्टोरेज ट्यांकबाट मागअनुसारको इन्धन आपूर्ति नहुँदा त्यसको प्रभाव नेपालमा परेको थियो।

'एउटा ट्यांक दुई दिनका लागि बन्द भयो', निगमका प्रवक्ता घिमिरेले भने,'दोस्रो ट्यांकको क्षमता हाम्रो मागको परिमाणभन्दा सानो भएर मागअनुसार दुई दिन आपूर्ति नहुँदा बजारमा केही अभाव भएको थियो । तर अहिले बजार सामान्य बन्दै गएको छ ।' निगमले दैनिक पाँच लाख लिटर इन्धन वितरण गर्दैआएको छ।

नौ सय सिलिन्डर नष्ट

काठमाडौं: नेपाल ग्यास उद्योग प्राइभेट लिमिटेडले बिहीबार काम नलाग्ने झण्डै एक हजार खाना पकाउने ग्यास सिलिन्डर नष्ट गरेको छ । धेरै पुराना, कुच्चिएको, मर्किएको र हाइड्रोलिक परीक्षणमा प्रयोग गर्न नमिल्ने सिलिन्डर नष्ट गरिएको हो।

उद्योगका प्रबन्धक राजेन्द्र दंगालका अनुसार प्रहरी, उपभोक्तावादी, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका प्रतिनिधिको रोहवरमा पुनः प्रयोग गर्न नमिल्ने नौ सय १० थान सिलिन्डर नष्ट गरिएको हो।

कालो बजारी गर्ने पक्राउ

यसैबीच विभागले बिहिबार नै बालाजु बाइपास क्षेत्रबाट ग्यासको कालोबजारी गरेको अभियोगमा एक व्यवसायीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ।

विभागका निर्देशक लक्ष्मण श्रेष्ठका अनुसार बालाजु वाइपास सडक खण्डमा खाना पकाउने ग्यास सिलिण्डर बिक्री गर्ने व्यवसायी विनोद मानन्धरलाई कालोबजारी नियन्त्रणमा लिएर स्थानीय महानगरीय प्रहरी वृत बालाजुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिम्मा लगाइएको छ।

अनुगमन टोलीमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाका अनुसार मानन्धरको पसलमा भरिएको अवस्थामा लोकप्रिय, सुगम,   श्रीकृष्णलगायतका दर्जनौं ब्रान्डको ४९ थान सिलिन्डर भेटिएको थियो।
annapurnapost

,

news and entertainment