स्वागत र विरोधमा हजारौं सडकमा

विराटनगर- नयाँ संविधानको स्वागत र विरोधमा पूर्वी नेपालमा हजारौं मानिस सडकमै उत्रिएर खुसीयाली र विरोध जनाएका छन्। संविधानको स्वागत गर्दै हजारौंको सहभागितामा विराटनगरमा मोटरसाइकल र्याउली निकालेलगत्तै असन्तुष्ट संयुक्त मधेसी मोर्चाले विरोध जुलुस प्रदर्शन गरेका छन्।







विराटनगरको सहिद रंगशालाबाट नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका नेता–कार्यकर्तासहित हजारौंको संख्यामा सर्वसाधारणले संविधानको स्वागत गर्दै मोटरसाइकल र्यााली निकाले। र्यातलीका सहभागीले नेपालको झन्डा र तीनवटै पार्टीका झन्डा बोकेका थिए। उनीहरुले तराई, पहाड, हिमाल कोही छैनौ पराई भन्दै नाराबाजीसमेत गरे। संविधानको स्वागतमा निकालिएको मोटरसाइकल र्यातलीलाई लक्षित गरेर विराटनगरको महावीर चोकमा ढुंगा प्रहार गरिएपछि केहीबेर स्थिति तनावपूर्ण बनेको थियो। तर, सुरक्षाकर्मीको बाक्लो तैनाथीले स्थिति अप्रिय हुन सकेन।

संविधानको स्वागतमा विराटनगरको बिभिन्न स्थानमा खुशियाली मनाइएको छ। यता, संयुक्त मधेसी मोर्चाले संविधानमा आफ्ना माग नसमेटिएको विरोधमा विराटनगरमा विरोध जुलुस प्रदर्शन गरेका छन्। हातहातमा कालो झन्डा बोकेका हजारौं प्रदर्शनकारीले विराटनगरको परिक्रमा गरेका छन्। संविधानको स्वागत र विरोधमा हजारौंको सहभागितामा प्रदर्शन हुन थालेपछि विराटनगरको सुरक्षा मजबुत पारिएको थियो।

इटहरीमा लाखबत्ती

राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ घोषणा गरेलगत्तै इटहरीमा आइतबार साँझ स्वागत गरियो। यादवले नयाँ संविधान जारी भएको घोषणा गर्नासाथ इटहरीको मुख्य चोकमा दीपावली गर्दै लाख बत्तीसमेत बालियो।

देशमा संघीय लोकतान्त्रिक संविधान जारी भएको खुसियालीमा इटहरी चोकमा पाँच हजारभन्दा बढी सर्वसाधारण भेला भएर नाचगान गर्दै दीपावली गरे। इटहरीका विभिन्न महिला सञ्जालको अगुवाइमा लाख बत्ती बालिएको हो।

यसैबीच, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितको समूहले आइतबार अरुण पूर्वका नौ जिल्ला लिम्बुवान राज्य नभएकोमा बन्द आह्वान गरेर विरोध गरेको छ। प्रदेशको नामांकन भइनसकेपनि नेकपा–माओवादीसहित लिम्बुवान संयुक्त संघर्ष समिति, नेत्रविक्रम चन्द 'विप्लव' ले नेतृत्व नेकपा माओवादीले पूर्वका नौ जिल्ला बन्द गर्न समर्थन गरेको लिम्बुवान नेता पदम अधिकारीले बताए। हिन्दू धर्मका पक्षमा जागरण आन्दोलनका अगुवा सन्त श्रीनिवासाचार्यको नेतृत्वमा हिन्दु राष्ट्र घोषणा नभएको विरोधमा सोमबार इटहरीमा विरोध र्यााली प्रदर्शन गरिएको छ।

घरघरमा कालो झन्डा

संविधानको विरोध गर्दै महोत्तरीको घरघरमा कालो झन्डा राखिएको छ। आइतबार विहानै सदरमुकाम जलेश्वरको चोक–चोकमा सर्वसाधारणले सडकछेउमा रहेको विद्युत र टेलिफोनको पोल र आ–आफ्ना घर अगाडी कालो झन्डा झुण्डयाएर विरोध जनाएको छ। मधेसलाई उपेक्षित गरी संविधान ल्याएकोमा उनीहरु असन्तुष्ट छन्। महोत्तरीको जलेश्वर, मटिहानी, रामगोपालपुर, सम्सी, औरही, रघुनाथपुर, गौश्ाालाको बजारक्षेत्र र ग्रामीण क्षेत्रमा पनि कालोझन्डा गाडिएको छ।

लिम्बुवानमा पनि स्वागत र विरोध

संघीय गणतन्त्र नेपालको संविधान जारी हुने भएपछि पाँचथरका जनतामा उत्साह छाएको छ। संविधानसँगै देशमा अमनचयनको अवस्था सिर्जना हुने, आर्थिक रुपान्तर हुने भन्दै स्वागत गरिँदैछ। यसका साथै संविधानमार्फत अरुणपूर्वका नौ जिल्ला संघीय लिम्बुवान राज्य हुन नसकेको भन्दै विरोधका कार्यक्रम सञ्चालन भएका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राप्रपा नेपाल, राप्रपा, नेकपा(माले) जस्ता दलहरुले स्वागतका विभिन्न कार्यक्रम गरेका छन भने लिम्बूवान आन्दोलन अघि बढाउन भन्दै गठित मोर्चाले अरुण पूर्वका नौँ जिल्ला अनिश्चिककालीन वन्द आव्हान गर्दा जनजीवन कष्टकर बनेको छ। एकातिर स्वागत र अर्कोतिर विरोधका कार्यक्रम सञ्चालन भए।

सप्तरीमा विरोध

नयाँ संविधानको सप्तरीमा विरोध गरिएको छ। मधेसी मोर्चाले आह्वान गरेजस्तै सदरमुकामदेखि गाउँ–गाउँ सम्ममा संविधानको विरोधमा गरिएको छ। मोर्चाका नेता–कार्यकर्ताले जिल्लास्थित सरकारी कार्यालयमा समेत कालो झन्डा गाडेका छन्।

तिलाठीस्थित वेल्ही भन्सार, हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी, कठौना, कल्याणपुर, कदमाहा, पातो, खुरहुरीया लगायतका ठाउँमा समेत कालो झन्डा प्रदर्शन भएको थियो।

बन्दको अवज्ञा गर्दै स्वागत

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र विप्लव नेतृत्वको माओवादीले आइतबार आह्वान गरेको नेपाल बन्द अवज्ञा गर्दै सिन्धुलीमा दीपावली गरिएको छ। शनिबार साँझ जुलुससहित बन्दको आह्वान गरेका बन्दकर्ताले आइतबार बिहान बजार र यातायात बन्द गराए तर संविधानलाई स्वागत गर्न उत्साहित व्यापारीले खुलेर बन्दको विरोध गरे। बिहान ९ बजेबाट बन्द रहेका पसल खुलाएर उनीहरूले बन्दको अवज्ञा गरेका हुन्। बन्दको अवज्ञा भएपछि संविधानलाई स्वागत गर्न चोक–चोकमा युवा निस्किएका थिए।

जनकपुरमा जलाइयो

जनकपुरमा संविधानको प्रति जलाइएको छ। संविधानसभा भवनमा संविधान जारी हुनुभन्दा एक घन्टाअगावैदेखि जनकपुर क्षेत्रको विद्युत लाइन काटिएको थियो। केवल टिभी नेटवर्कको लाइन पनि अवरुद्ध गरिएको थियो। अन्य जिल्लामा दीपावली मनाइरहँदा जनकपुर अँध्यारो थियो। आइतबार दिनभर जनकपुर तनावग्रस्त रह््यो। करिब पाँच हजारको संख्यामा रहेका प्रदर्शनकारीले हात, निधार र मुखमा कालो पट्टी बाँधेर नगर क्षेत्रमा जुलुस प्रदर्शन गरे।

घर–घरमा दीपावली

संविधान जारी भएसँगै भोजपुरका घर–घरमा दीपावली गरियो। सात राजनीतिक दलले बेलुका छ बजे सदरमुकामको सहिद पार्कमा दीपावली गरे। उनीहरूले आफ्ने पार्टी कार्यालयमा समेत दीपावली गरे। सदरमुकामका अधिकतर घरमा स्थानीयले दीपावली गरे। संविधान जारी भएको खुसियालीमा यहाँका युवाले मोटरसाइकल र्यासलीसमेत गरेका छन्।

धरानमा भव्य स्वागत

'हिमाल, पहाड, तराई, कोही छैन पराई!' आइतबार साँझ राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ घोषणा गरेलगत्तै धरानको छाताचोक क्षेत्रमा यही आवाज गुञ्जायमान भयो। लामो प्रतीक्षापछि जननिर्वाचित संविधानसभाबाट बनेको संविधानलाई धरानवासीले स्वागत गरे।

साँझ ५ बजे राष्ट्रपतिद्वारा घोषणा हुने भनिए पनि केही ढिलो भएपछि विभिन्न वडाबाट भेला भएका नगरवासीमा बेचैनी बढिरहेको थियो। राष्ट्रपतिद्वारा घोषण भएको खबर सार्वजनिक भएलगत्तै धरानवासीले एकअर्कालाई अंकमाल गर्दै संविधान घोषणा भएकोमा खुसी र बधाई साटासाट गरे।

तेह्रथुममा खुसियाली

नयाँ संविधानको स्वागत गर्दै सदरमुकाम तेह्रथुममा दीप प्रज्वलन गरियो। लामो समयको पर्खाइपछि जारी भएको संबिधानको स्वागत गर्दै लोकतान्त्रिक चोकमा भेला भएर नेपालको नक्सा कोरी दीप प्रज्वलन गरिएको हो। संबिधान जारी भएको खुसियालीमा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय र सदरमुकामवासीले घरघरमा दीप प्रज्वलन गरे। नयाँ संविधानको स्वागत गर्दै नेपाली कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ताले नाचगान गरे।

सभासदको घरमा आगजनी

नयाँ संविधानको विरोधमा कालो झन्डासहित गाउँ–गाउँबाट प्रदर्शनमा सहभागी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिरहा बजारस्थित सभासद् सीतादेवी यादवको घरमा आगजनी गरेका छन्। आइतबार दिउँसो मौनजुलुस प्रदर्शनका क्रममा आक्रोशित भीड सभासद् यादवको घरमा प्रवेश गरी एउटा मोटरसाइकल, एउटा जिप र बैठक घरमा आगजनी गरेको थियो।

आगजनीबाट एउटा जिप, एउटा मोटरसाइकल र बैठक घर (हावा महल) पूर्ण रूपमा क्षति भएको सिरहाका एसपी रामकृपाल साहले जानकारी दिए। आगजनीको खबर पाएर गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए। यादव सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद् एवं नेपाली कांग्रेस सिरहा सभापति हुन्।

नांगो जुलुस

नयाँ संविधानकको पक्ष र विपक्षमा उदयपुरमा आइतबार बिहानैदेखि विविध कार्यक्रम भए। संविधान घोषणाको खुसियालीमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा, राप्रपा नेपाल र जनमोर्चाले बजारमा खुसियाली जुलुस निकाले। विपक्षमा आन्दोलनरत दल र समूहले कालो झन्डा गाड्नुका साथै कालो झन्डा लिएर बजारमा नांगो जुलुस प्रदर्शन गरेका छन्।

पक्षधरले बजारका विभिन्न चोक, लोकतान्त्रिक चोकस्थित पीपल बोट र सरकारी कार्यालय तथा पार्टी कार्यालयमा राष्ट्रिय झन्डा गाडेर स्वागत गरे। विरोध गरिरहेका आन्दोलनरत पक्षले आजको दिनलाई 'कालो दिन' का रूपमा मनाउन कालो ब्यानर र कालो पट्टीसहित कपडा खोलेर नांगै सडकमा प्रदर्शन गरे।
nagariknews




,

news and entertainment