प्रधानसेनापति आइतबार अमेरिका जाने

काठमाडौँः प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा ११ दिने भ्रमणका लागि आइतबार अमेरिका जाने भएका छन् ।

अमेरिकी सेनाको कमाण्ड र जनरल स्टाफ कलेज फोर्ट लिभेनवर्थ कान्सास र बार कलेज कार्लिस्ले ब्यारेक पेन्सिल भेनियामा इन्टरनेसनल फेलोस् हल अफ फेम इन्डक्सन (इएचओएफ) समारोहमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।



अमेरिकी सेनाका शिक्षण संस्थाले त्यहाँबाट शिक्षा लिएर उच्च ओहोदामा पुग्ने शिक्षार्थीलाई सम्मान दिने प्रावधानअनुरुप प्रधानसेनापति क्षत्री सम्मान ग्रहण गर्न जाने भएका हुन् ।

दुवै अमेरिकी सैनिक शिक्षण संस्थाको इन्टरनेसनल हल अफ फेममा सम्मानित हुने क्षत्री नेपाली सेनाको पहिलो प्रधानसेनापति हुन ।

अमेरिका भ्रमणमा रहँदा प्रधानसेनापतिले त्यहाँका उच्चपदस्थ अधिकारीलगायत वरिष्ठ सैनिक अधिकृत र संयुक्त राष्ट्रसङ्घका पदाधिकारीसँग भेटवार्ता  गर्ने कार्यक्रम छ ।

प्रधानसेनापतिको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सम्बन्धलाई थप प्रगाढ र सुदृढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रधानसेनापति क्षत्री यही वैशाख २३ गते स्वदेश फर्कने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस
annapurnapost

,

news and entertainment