जनकपुर- भारतीय राजदूत रञ्जित रेले सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँ लिएर कुनै सामान नबेच्न सम्बन्धित व्यवसायीलाई सचेत गराएका छन्।
शनिबार जनकपुरमा आयोजित नेपाल–भारत ट्रेड सिम्पोसियम तथा सीमा क्षेत्रका पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले भने, 'भारतीय बजारमा भारु र डलरबाहेक कुनै देशको नोट चल्नुहुँदैन।' कार्यक्रममा बिहारका मधुबनी र सीतामढी जिल्लाको प्रतिनिधित्व गरेका व्यवसायीले आफूहरुसँग करोडका करोड नेपाली रुपैयाँ थन्के पनि सटही गर्ने आधार नभएको गुनासो गरेपछि राजदूत रेले यस्तो प्रतिक्रिया दिएका हुन्।
व्यवसायीले खासगरी मधेस बन्दले महिनौंसम्म भन्सार बन्द रहेको हुँदा त्यस अवधिमा सीमावर्ती बजारबाट उल्लेख्य संख्यामा नेपालमा सामान आयात भए पनि त्यहाँ थुप्रिएको नेपाली रुपैयाँ अहिलेसम्म साट्न नपाएको दुखेसो पोखेका थिए। उनीहरुले प्रत्येक नाकामा सटही काउन्टर खोलिदिन माग गरेपछि राजदूत रेले नेपाली रुपैयाँ लिएर कुनै सामान नबेच्न व्यवसायीलाई निर्देशन गरे।
रेले मधेसको हुलाकी राजमार्ग निर्माण भएपछि सीमावर्ती नेपालको अधिकांश समस्या समाधान हुने बताउँदै यसका लागि नेपाल सरकारसँग मिलेर काम अघि बढाइसकेको बताए। 'हुलाकी राजमार्ग निर्माण गर्न आवश्यक लागत भारत सरकारले उपलब्ध गराउने र कार्यान्वयन नेपाल सरकार आफैंले गर्ने सहमति अनुरुप प्रक्रिया अघि बढिसकेको छ,' उनले भने।
कार्यक्रममा नेपाल–भारत खुला सीमानाको फाइदा दुवै पक्षले लिनुपर्ने राजदूत रेले बताए। खुला सीमाको दुरुपयोग भएको खबर बढी आउने गरेकोमा चिन्ता व्यक्त गर्दै रेले यसको नियन्त्रण गर्न दुवै मुलुकका सुरक्षाकर्मी, प्रशासन र नागरिक समाजलाई गम्भीर हुन उनले आग्रह गरे।
कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साहले जनकपुरदेखि सीमाक्षेत्र जटहीसम्म नेपाल सरकारले ६ लेनको सडक निर्माण सुरु गरिसकेको अवगत गराउँदै भारतीय राजदूतसँग जटहीदेखि सहरसा (बिहार) सम्मको १५ किलोमिटर सडक पनि कम्तीमा चार लेन निर्माण गरिदिन र जनकपुरलाई लोडसेडिङमुक्त नगर बनाइदिन माग गरे।
नेपालको सर्लाही, महोत्तरी, धनुषा र बिहारको सीतामढी तथा मधुबनी जिल्लाका व्यवसायी र सञ्चारकर्मी सहभागी कार्यक्रममा भन्सार, दुवैतर्फको सडक स्तरोन्नति, भारु अभाव, जनकपुर–अयोध्या धार्मिक सम्बन्ध स्थापनादेखि अन्तरदेशीय सम्बन्ध पुनर्स्थापनासम्मको विषयमा बहस भएको थियो।
नेपाल–भारत महिला मैत्री संघ र भारतीय महावाणिज्यदूतावास वीरगन्जले आयोजना गरेको कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी लगायत तीनवटै तहका सुरक्षा प्रमुख र एसएसबीका कमान्डेन्ट एचबिके सिंहलगायत अधिकारीको सहभागिता थियो।
nagariknews
'नेपाली रुपैयाँ लिएर सामान नबेच्नू'
news and entertainment
