भूकम्पलाई जित्ने सोनिसलाई बढ्यो सहयोगी हात
फोटो :सैनिक मुख्यालयमा आइतबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग रमाउँदै महाभूकम्पमा परेर २२ घन्६ापछि उद्धार गरिएका बालक सोनिस अवाल। तस्बिर सौजन्य: नेपाली सेना
काठमाडौं: गत वर्ष वैशाख १२ गते गएको महाभूकम्पमा परी २२ घन्टापछि भग्नावशेषबाट निकालिएका भक्तपुरका बालक सोनिस अवालको परिवारलाई अन्नपूर्ण मिडिया नेटवर्कले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
अन्नपूर्ण पोस्ट् दैनिकको तीनकुनेस्थित कार्यालयमा आइतबार प्रधानसम्पादक युवराज घिमिरेले सोनिसकी दिदी सोनियालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । गत वर्ष वैशाख १२ गतेको भूकम्प जाँदा उनी ६ महिनाका थिए भने सोनिया पनि भूकम्पमा परेर बाँचेकी थिइन्।
भक्तपुर नगरपालिका ४ मूलढोकास्थित घरमा पुरिएर उद्धार गरिएका सोनिसको परिवारलाई अन्य दाताहरूले पनि सहयोग गरेका छन्। काठमाडौं महानगरपालिका १६ सोह्रखुट्टे निवासी रमेशानन्द वैद्यले सोनिसकी आमा रस्मिलालाई लालनपालनका लागि १० हजार नगद प्रदान गरे।
वैद्यले अरू सहृदयीलाई समेत सहयोग गर्ने प्रेरणा दिन आफूले सुरुआत गरेको बताए।सहयोग बुझेपछि सनिसकी आमा रस्मिलाले भनिन्, ‘सरकारबाटै राहत पाउन नसकेका बेला व्यक्तिबाट सहयोग पाउँदा खुसी लागेको छ।
यस्तै सहयोग निरन्तर रहे हाम्रो दैनिकी र बालबच्चाको शिक्षादीक्षा राम्रो हुने विश्वास लिएकी छु।' उनी छोरा सोनिसलाई लिएर सहयोग रकम बुझ्न आएकी थिइन्।
सोनिसलाई सेनाले पढाइदिने
काठमाडौं ः भक्तपुरका बालक सोनिस अवाललाई नेपाली सेनाले शैक्षिक वृत्ति उपलब्ध गराउने भएको छ।
जंगीअड्डामा आइतबार आयोजित विशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सोनिसलाई शैक्षिक वृत्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सोनिसलाई नेपाली सेनाले २२ घन्टापछि भग्नावशेषबाट निकालेको थियो। उनी अहिले १७ महिनाका भएका छन्। सोनिसलाई भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा कक्षा ६ देखि स्नातक तहसम्मको शैक्षिक वृत्ति उपलब्ध गराउने भएको हो।
कक्षा ५ सम्म पढ्न उनलाई सेनाले निश्चित रकम, पाठ्यपुस्तक तथा निर्वाह खर्च उपलब्ध गराउने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
भूकम्पका बेला भग्नावशेषभित्र लामो समयसम्म रहँदासमेत चामत्कारिक रूपमा जीवित रहेका अवाललाई नेपाली सेनाले उद्धार गरेको थियो।
बालक अवाललाई शैक्षिक वृत्ति प्रदान गर्न पाउँदा सेना गौरवान्वित भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
annapurnapost
