इन्जिनियर भूकम्प प्रभावित गाउँ प्रस्थान,जनताको आंशकालाई आशामा बदल्न प्रधानमन्त्रीको निर्देशन
पुननिर्माणका लागि २५ सय प्राविधिक भूकम्प प्रभावित गाउँ प्रस्थान, जनताको आंशकालाई आशामा बदल्न प्रधानमन्त्री केपी ओलीको निर्देशन
भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न सरकारले करिब २५ सय प्राविधिकलाई भूकम्प अति प्रभावित ११ जिल्लामा पठाएको छ । शहरी विकास तथा भवन निर्माण विभागले १३ सय ४६ इन्जिनियर, ६ सय ५० ओभरसियर र ५ सय ७५ जना एसिस्टेन्ट इन्जिनियरलाई एक साताभित्र कार्य क्षेत्रमा पुग्ने गरी बिदाई गरेको हो । नेपालकै इतिहासमा यतिधेरै इन्जिनियर एक साथ गाउँ गएको यो पहिलो पटक हो ।
शहरी विकास मन्त्रालयले पुनर्निर्माणको लागि छनौट गरेका यी प्राविधिकहरुलाई दुई दिनको प्रशिक्षण दिएपछि उनीहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गाउँ पठाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्लामा पठाइने प्राविधिकहरुलाई एक समारोहका बीच विदाई गर्नुभयो । प्रधानमन्त्री ओलीले जनतामा पुनर्निमाण हुन्न कि भन्ने आशंका भएकाले इन्जिनियरहरूलाई गाउँमा गएर जनताको आशंकालाई आशामा बदल्न सक्ने गरी काम गर्न निर्देशन दिनुभयो ।
इन्जिनियरले शहरी विकास मन्त्रालयबाट नियुक्तीपत्र प्राप्त गरेपछि केहि दिनभित्रै मन्त्रालयले नै तोकेका गाविसमा पुग्नेछन् । दुई दिने तालिमको समापन गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले इन्जिनियरको छनौट र परिचालनबाट आफू उत्साहित भएको भन्दै पुनर्निर्माणको मुख्य कामको थालनी भएको बताउनुभयो । उहाँले इन्जिनियरलाई आर्थिक लोभ भन्दा पनि काममा ध्यान दिन आग्रह गर्नुभयो ।
शहरी विकास मन्त्रालय सचिव दिपेन्द्रनाथ शर्माले नेपालको इतिहासमै सबैभन्दा धेरै इन्जिनियर गाउँ पठाउन लागिएकाले पुनर्निमाणको काममा तीब्र गतिमा अगाडी बढ्ने बताउनुभयो । उहाँले अहिलेलाई प्रत्येक गाविसमा १ जनाका दरले इन्जिनियर खटाइने बताउनुभयो । सविच शर्माले पुनर्निर्माणको लागि चाहिने ८ खर्ब रुपैयाँको ७० प्रतिशत शहरी विकास मन्त्रालयले परिचालन गर्नुपर्ने भएकाले इन्जिनियरले सहायता रकम वितरणमा पनि सहयोग गर्ने जानकारी दिनुभयो ।
करारमा नियुक्त भएका इन्जिनियरले गाउँमा घरका डिजाइन देखाउने, नागरिकलाई भूकम्प प्रतिरोधी घर बनाउन प्रेरणा दिने, स्थानीय डकर्मीलाई तालिम दिने, पुनर्निर्माण प्राधिकरणले वितरण गर्ने २ लाख सहायता गर्नेदेखि मापदण्डअनुसारका घर बने नबनेको निरीक्षण गर्नेछन् ।
३ हजारको आवेदन परेकोमा शहरी विकास मन्त्रलायले लिखित र अन्र्तवार्ता गरि १३ सय ४६ जना छनौट गरेको हो । काठमाडौं र आसपासका जिल्लामा उत्कृष्ट महिला इन्जिनियर खटाउने र बाँकी जिल्ला पुरुष र युवा इन्जिनियर खटाइने पनि मन्त्रलायका सचिव शर्माले जानकारी दिनुभयो ।
News24Nepal