महिला फुटबलमा नेपाल र भारत भिड्दै,भारतलाई हराउन सके एक खेल बाँकी छँदै सेमिफाइनलमा पुग्ने
ताजकिस्तानमा भइरहेको १४ वर्षमुनिको दक्षिण तथा मध्यक्षेत्रीय महिला फुटबलमा नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल र भारत आमने सामने भएका हुन् ।
सात देश सहभागी रहेको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपाल रहेको समूहमा भारतसँगै गत वर्षको विजेता बंगलादेश पनि छ । यस्तै समूह ‘ए’ मा ताजकिस्तान, इरान, कीर्गिस्तान र भूटान छन् । लिगकम नकआउटका आधारमा हुने खेलमा प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।
नेपाल अघिल्लो संस्करणमा फाइनलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो । एक महिनाको तयारी गरेर ताजकिस्तान गएको नेपाली टोलीमा पवित्रा राई, पुनम घिमिरे, पूर्णिमा घिसिङ, रजनी थोकर, रज्जु खड्का, रोशनी खत्री, सविना चौधरी, सजनी थोकर, सलोनी रानामगर, सरिता न्यौपाने, सरिशा कार्की, सुमित्रासिंह पाख्रिन, सुनु जिम्बा, उदया थापा र अस्मिता खवार छन् । नेपालले बुधबारको खेलमा भारतलाई हराउन सके समूहको एक खेल बाँकी छँदै सेमिफाइनलमा पुग्ने छ ।
News24Nepal