१२ दलका नेता र रेग्मीवीच सिंहदरबारमा वार्ता
३ जेठ, काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सरकार र १२ साना दलका शीर्ष नेताहरूबीच संविधानसभा सदस्य निर्वाचन अध्यादेशका प्रावधान र निर्वाचनको मिति घोषणा गर्ने विषयमा शुक्रबार सिंहदरबारमा छलफल भएको छ ।
छलफलमा समानुपातिक तर्फ संविधानसभा सदस्यको सिट प्राप्त गर्न आवश्यक पर्ने न्यनूतम मत प्रतिशत (थ्रेसहोल्ड), समानुपातिक सिट संख्या, दल दर्ताका लागि आवश्यक पर्ने दश हजार मतदाताको हस्ताक्षर लगायतका प्रस्तावित प्रावधानमा केन्दि्रत रही विभिन्न दलहरुको धारणा रेग्मीले बुझ्नुभएको अध्यक्षको सचिवालयले जनाएको छ ।
छलफलका क्रममा अध्यक्ष रेग्मीले संविधानसभा सदस्य निर्वाचन अध्यादेशका विभिन्न प्रावधानप्रति विभिन्न दलवाट आएका फरक-फरक सुझाव र धारणालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकार गम्भीर रहेको दलका नेताहरुलाई बताउनुभयो ।
प्रवासी नेपालीलाई मताधिकारको व्यवस्था गर्न राजमोको माग
छलफलमा सहभागीमध्येका राष्ट्रिय जनामोर्चाका अध्यक्ष चित्रबहादुर केसीका अनुसार रेग्मीले नेताका कुरामात्रै सुनेर आफूलाई रिजर्भमा राख्नुभएको थियो । थ्रेसहोल्डको विषयमा पनि विवाद छ, कसैले राख्ने भनेका छन्, कसैले हुँदैन भनेका छन् भन्दै रेग्मीले आफूहरुसित सुझाव माग्नुभएको केसीले अनलाइनखबरलाई बताउनुभयो । । राष्ट्रिय जनमोर्चाको तर्फबाट आफूले पार्टी दर्ताका लागि १० हजारको प्रावधान हटाउन, थ्रेसहोल्डको प्रावधान नराख्न, प्रवासी नेपालीलाई दूतावासमार्फत मताधिकारको व्यवस्था गर्न, फौजदारी अभियोग लागेकालाई उमेद्वा नबनाउन र अनागरिकलाई नागरिकता वितरण नगर्न रेग्मीलाई सुझाव दिएको बताउनुभयो ।
छलफलमा अध्यक्ष रेग्मीसँगै मन्त्रिपरिषद्द्वारा गठित परामर्श तथा समन्वय समितिका सदस्यहरू माधवप्रसाद घिमिरे, माधवप्रसाद पौडेल र विद्याधर मल्लिकको पनि उपस्थिति थियो । त्यस्तै दलहरुका तर्फबाट नेकपा संयुक्त, नेकपा माले, नेपाल रिपब्लिक पार्टी, जनता दल युनाइटेड, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक दल, नवनेपाल निर्माण पार्टी, राष्ट्रिय सद्भावना पार्टी, संघीय सद्भावना पार्टीलगायतका दलका नेताहरुको उपस्थिति थियो ।
