दाताको मात्र आश नगर्न इयूको सुझाव
३ जेठ, काठमाडौं । नेपालका लागि यूरोपियन युनियनका राजदूत अलेक्जाण्डर स्पाचिजले विकासका लागि दाताको सहयोगमा मात्र आशावादी नहुन नेपालसँग आग्रह गर्नु भएको छ । वित्तीय साक्षरता अभिवृद्धि विषयक एक गोष्ठीमा राजदूत अलेक्जाण्डरले नेपाललाई इयूले खुला हृदयले सहयोग गरिरहेको उल्लेख गर्दै दाताको सहयोगले मात्र विकास गर्न सकिंदैन भन्ने कुरा बुझ्न नेपाललाई आग्रह गर्नुभयो ।
ईयूले नेपालको लागि ७ वर्षे विकास रणनीति तय गरेको र त्यो ग्रामीण विकास, शिक्षा र सुशासनमा केन्दि्रत रहने जानकारी उहाँले दिनुभयो । यसैगरी नेपालमा सावजनिक उत्तरदायित्व र पारदर्शितामा फड्का नमारी दीगो विकास सम्भव नभएकाले यूरोपले त्यसका लागि विशेष जोड गर्ने उहाँले जनाउनुभयो ।
यूरोपियन युनियनले नेपाललाई अनुदानका साथै व्यापारिक कर्जासमेत प्रदान गर्न थालेको र दुवै प्रकारको सहयोगलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो । नेपाल सरकारलाई परियोजना सञ्चालनका लागि यूरोपियन इन्भेष्टमेन्ट बैंकमार्फत नेपाललाई कर्जा सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । पहिलो व्यापारिक ऋण उक्त बैंकले नेपाल सरकारलाई ७० मेगावाटको तनहुँ जलविद्युत आयोजनामा प्रदान गरेको छ । यस परियोजनामा यूरोपियन इन्भेष्टमेन्ट बैंकले ५५ मिलियन यूरो अर्थात ७० मिलियन डलर ऋण दिने सम्झौता गरेको छ । यस परियोजनामा एसियाली विकास बैंक, जाइका र अबुदुहबी कोषले पनि लगानी गरेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/05/71947/#sthash.LqZvkH91.dpuf