ब्यवसायिक रुपमा मेवा खेती गर्दै निजगढका किसान

सुनिल गाउँले
सिमरा२९ पौष
ब्यवसायीक उखु खेतीका लागि जिल्लामै नाम कमाएको बारा निजगढका किसानहरु अहिले ब्यवसायीक मेवा खेती तर्फ आकर्षित भएका छन् ।
एक बर्ष अघि निजगढका चित्रकुमार तिमल्सिनाले निजगढमा पहिलोपटक मेवाको ब्यसायिक खेती थालेपछि आकर्षित भएका यहाँका एक दर्जन बढि किसानले उखु रोप्न छाडेर मेवा खेती अपनाउन थालेका छन् ।
शुरुमा निजगढ १ लिच्चीटोलका तिमल्सीनाले थाइल्याण्डमा गरिने “रेड लेडी” प्रजातीको मेवा २ बिगाहा १० कठ्ठा क्षेत्रफल जमिनमा लगाएका थिए । करिब ६ लाख रुपैयाँको लागतमा शुरु गरिएको खेतिबाट एक बर्षमा आफ्नो लगानी उठिसकेको तिमल्सीना को भनाई छ । चितवनको पर्सामा देखेको मेवाखेतीबाट प्रभाबित भएर आफुले थालेको खेती निजगढका अन्य किसानले पनि थालेको देख्दा खुशी लागेको उनले बताए । “उखु रोप्ने किसानहरु मेवा खेती तर्फ आकर्षित भएको देख्दा खुशी लाग्छ” उनले भने ।
परम्परागत रुपमा गरिएको खेती गर्नु भन्दा केहि नयाँ प्रयोग गर्नुपर्छ भन्ने उद्येश्य राखेर मेवाको ब्यवसायीक खेती थालेको उनि बताउँछन् । “मेवा बहु उपयोगि भएकाले पनि यसको बजार राम्रो छ ” तिमल्सिनाले भने । किसानहरुका अनुसार निजगढमा उत्पादित मेवाको मुख्य बजार काठमाण्डौ र वीरगञ्ज हो । निजगढमा उत्पादित मेवा काठमाण्डौ पु¥याएर प्रतिकीलो ३० देखी ५० रुपैयाँ सम्म र वीरगञ्जमा २० देखी ३० रुपैयाँमा बिक्री गर्ने गरिएको कृषकहरुले जानकारी दिए ।
तिमल्सीना लगायत निजगढमा ब्यसायीक मेवा खेती गरिरहेका किसान यसलाई समूहगत रुपमा बिस्तार गर्ने सोंचमा छन् ।

news and entertainment