‘अमर लामालाई एमाओवादीले किन मार्‍यो ?’


३ जेठ, चितवन । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले दासढुंगा काण्डका एकमात्र साक्षी अमर लामाका हत्याराहरु एकीकृत माओवादीमा रहेको बताउनुभएको छ । लामाको हत्या माओवादीभित्रैका व्यक्तिबाट भएको भन्दै यसले दासढुङगा घटना थप रहस्यमय भएको नेपालले बताउनुभएको छ । नेकपा एमाले चितवनले शुक्रबार मदन-आश्रति दुर्घटनास्थल दासढुङगामा आयोजना गरेको २० औं स्मृतिसभालाई सम्बोधन गर्दै नेता नेपालले घटनाको एउटै जिउँदो गवाहको हत्या किन गरियो, यसको जवाफ एकीकृत नेकपा माओवादीले दिनुपर्छ भन्नुभयो ।Amar-lama
उहाँले नेताद्वयका सवारीचालक अमर लामालाई जानीजानी हत्या गरिएको बताउँदै भन्नुभयो ,’हत्या गर्ने व्यक्तिहरु अहिले एकीकृत नेकपा माओवादीमा रहेका छन् भन्ने सुन्नमा आएको छ ।’ नेपालको प्रश्न थियो, ‘त्यसका पछाडिको कारण के हो, माओवादीले नै जवाफ दिनुपर्छ । अमर लामा जीवितै हुँदा मदन भण्डारीको हत्याको रहस्य खुल्ने भएकाले उनको हत्या गरिएको दाबी गर्दै उहाँले घटनालाई लुकाउन लामाको हत्या गरिएको दाबी गर्नुभयो । आफ्नै पार्टीको सरकार बनेको र जनस्तरमा घटना अनुसन्धानका लागि आयोग बने पनि भण्डारी हत्याका दोषी पत्ता लाग्न नसक्नु दुखःद भएको बताउदै नेपालले दोषी पत्ता लगाई कारवाही गरेरै छाड्ने बताउनुभयो ।
भण्डारीको विचारलाई लिएर एमाले अघि बढेको बताउँदै उहाँले नेपाली जनताले एमालेबाहेक अन्य दलहरुलाई विश्वास नगर्ने बताउनुभयो । नेता नेपालले भन्नुभयो-’कांग्रेसले केही गर्न सक्दैन, माओवादीलाई लुट बाहेक बाहिर ध्यान छैन, केही गर्ने पार्टी एमाले मात्रै हो ।’ एमालेले जनतासँग विश्वास जित्न सक्ने बताउदै उहाँले साम दाम दण्ड भेदको राजनीति गर्नेलाई परास्त गरी आगामी निर्वाचनमा बहुमत ल्याउन नेता तथा कार्यकर्तालाई दासढुंगाबाट निर्देशनसमेत दिनुभयो । पोखराबाट चिवतन जाने क्रममा मदन भण्डारी र जीवराज आश्रति चढेको गाडी ०५० साल जेठ तीन गते त्रिशुलीमा खसेको थियो । नेताद्वयको घटनास्थलमै मृत्युभए पनि गाडी चालक लामा बाँच्न सफल भएका थिए । तनहुँ निवासी पूर्व एमाले कार्यकर्ता लामाको हत्या जनयुद्धकालमा माओवादी कार्यकर्ताले राजधानीभित्रै गरेका थिए ।

news and entertainment