लाहुरेकी छोरी, रुची ग्ल्यामर क्षेत्र, तर बनिन् डाक्टर !
डा.एलिसा वनेम
लाहुरेकी छोरी, रुची ग्ल्यामर क्षेत्र, तर बनिन् डाक्टर । धरानकी डा. एलिसा बनेमका लागि जिन्दगीको परिभाषा पनि अचम्मको छ । उनी मिस लिम्बु २०१२ की फस्ट रनर अप पनि हुन् । कतिपय मानिसका लागि रुची र पेशा नदीका विपरित किनारा बनिदिन्छन् । तर, चाह्यो भने जे पनि सम्भव हुन्छ भनेझैं उनी पेशा र रुचीलाई एकै ठाउँमा ल्याउने योजनामा छिन् ।
लिम्बु भाषाका म्युजिक भिडियोका साथै मिस नेपालहरुसँग फेशन शोपनि गरिसकेकी उनी पेशा र रुचीलाई जोड्न डर्माटोलोजिष्ट बन्ने योजनामा छिन् । उनले सुनाईन् ‘डर्माटोलोजिष्ट बन्दा म दुवै क्षेत्रसँग नजिक रहन सक्छु जस्तो लागेर यस्तो निर्णय गरेकी हुँ ।
धरानको तत्कालिन घोपा क्याम्पमा जन्मिएकी एलिसाले धरानकै पृथ्वी क्याम्ब्रिज स्कुलबाट पढाई सुरु गरिन् । नवज्योति स्कुलबाट एसएसली पास गरेकी उनले प्लस टु भने काठमाडौंको हिमालयन ह्वाईट हाउस कलेजबाट गरिन् । त्यसपछि चीनबाट एमबिबिएस गरेकी उनी अहिले एमडि गर्न काठमाडौं जाने सुरमा छिन् । सानैदेखि ग्ल्यामर क्षेत्रप्रति आकर्षित एलिसाले मिस लिम्बुमा सहभागी भएपछि यो क्षेत्रलाई नजिकबाट बुझ्न थालेकी छिन् । पहिला सोच्दा सजिलो जस्तो लागेपनि यो क्षेत्र सोचेजस्तो सजिलो छैन भन्ने बुझेकी छिन् । भन्छिन् ‘यो क्षेत्रलाई हल्का रुपमा मात्र लिनुहुँदैन, यो महिलाका लागि व्यक्तित्व विकास गर्ने राम्रो प्लेटफर्म पनि हो ।
रहरै–रहरमा सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एलिसा मिस लिम्बुकी फस्ट रनर अप बनेपछि सबैका आँखामा परिन् । एकातिर डाक्टरको दायित्व छँदैं थियो, अर्कोतिर मिस लिम्बुमा सहभागी हुँदा बनेको अर्को परिचय । अर्थात्, सबैले चिन्ने ‘पब्लिक फिगर’ भइन् । यहीकारण आफूमा दायित्व बढेको महसुस गरेकी छन् उनले । उपचार गराउन आउने धेरै बिरामीले चिन्छन्, त्यसबाट उनले बिरामीसंग राम्रो व्यवहार र गम्भीर भएर काम गर्ने जिम्मेवारी बढेको अनुभव पनि गरेकी छन् ।
‘सिम्पल लिभिङ, हाई थिंकिङ’ मन पराउने एलिसालाई आफ्नो जीवनसाथीपनि त्यस्तै भैदियोस् भन्ने लाग्छ । ग्ल्यामर क्षेत्रलाई नछोडी स्वास्थ्य सेवामा लागिरहने अठोट गरेकी उनको सपना छ– भविष्यमा सुविधासम्पन्न आफ्नै प्राईभेट हस्पिटल खोल्ने ।
