कठपुतली सरकारले जनपक्षिय संविधान निर्माण गर्दैन : बादल
काठमाडौं, १४ फागुन ,नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले वर्तमान सरकार र संविधानसभा कठपुतली भएकाले जनपक्षिय संविधान बन्न नसक्ने बताएका छन् ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले जनयुद्धका प्रथम शहिद दीलबहादुर रम्तेलको १९ औं स्मृति दिवसको अबसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सुगौली सन्धीपछिका पराधिन सरकार र सदन जस्तै अहिलेको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने दाबी गरे । उनले प्रतिगामी र यथास्थितिवादी, आत्मसमपर्णबादीहरु हावी भएको वर्तमान सरकार र संविधानसभा भएकाले जनताको संविधान नबन्ने पक्का भएको बताए ।
महासचिव बादलले दीलबहादुर रम्तेलको बलिदानले नेपालमा राजतन्त्रको अन्त्य भइ गणतन्त्र स्थापना भएपनि उनको सपना अझै पुरा नभएको बताए । गोरखा पन्दुरङ गाविसका कक्षा चारमा अध्ययन गर्ने बालक दिलबहादुर रम्तेललाई जनयुद्धको क्रममा २०५२ साल फागुन १४ गते तत्कालिन प्रहरीले हत्या गरेको थियो ।

