रातभर ठमेल जलिरह्यो...


काठमाडौ, जेष्ठ ३ - 
ठमेलवासी तथा रेस्टुरेन्ट सञ्चालकहरू 'पानी पानी' भन्दै कराउँदै थिए । छेउमै रहेको नर्थ फिल्ड क्याफेका कामदार जगबाटै भए पनि पानी फालेर आगो निभाउने प्रयास गर्दै थिए । 

जेनेरेटर पड्केर बिहीबार राति १०ः३० बजेतिर सुरु आगलागी करिब १२ बजे म घटनास्थल पुग्दासम्म पनि नियन्त्रणमा आएको थिएन । रातको सवा १ बजेतिर त्यहाँ भएका सबै मकलमा पानी सिद्धिसकेको थियो । अगाडिपट्टिको होटल नानाबाट टुरिस्ट चेक-आउट गर्ने क्रम सुरु हुँदै थियो, त्यति नै बेला पिलगि्रम्स बुक हाउस पछाडिपट्टिको किचेनको ग्यास सिलिन्डर ठूलो आवाजमा पडकयो, जसको ज्वालाले उक्त बुक हाउसको अगाडितर्फको भाग दन्किन थप मद्दत गर्‍यो । प्रहरी र आगो नियन्त्रकहरू लाचार देखिन्थे, दमकलमा पानी नभएर । थप मद्दत आउन समय लाग्दै थियो । त्यत्तिकैमा छेउछाउका होटल तथा घरका आपतकालीन आगो नियन्त्रण गर्ने सिलिन्डर लिएर दुई युवा बुक हाउसको आगो निभाउन कस्सिए । अरू सिलिन्डर पनि थप मद्दतका लागि ल्याइँदै थिए । १२/१३ आगो नियन्त्रक सिलिन्डरले दन्केको आगोको रापलाई केहीबेर भए पनि बढ्न दिएन, जसले गर्दा अरू नजिकका घरलाई आगोले छुन पाएन । केही छिनपछि थप दमकल मद्दतका लागि पानी लिएर आइपुगे । ३ बजेतिर घर फर्केर फेरि शुक्रबार बिहान ७ बजे घटनास्थल पुग्दा सेना, प्रहरी तथा बुक हाउस सञ्चालक डढेका पुस्तकहरूबाट सग्ला-सग्ला छान्दै थिए । बुक हाउसका मालिक रामानन्द तिवारी गम्भीर र मौन देखिन्थे ।

मध्याह्न १० बजेतिर मात्र बारुणयन्त्रका कर्मचारी आगो नियन्त्रणमा आएको जनाउ दिँदै थिए । तर यतिखेरसम्म युवा जमातमा निकै चर्चित 'सिसा रेस्टुरेन्ट' र दुई युवा उद्यमीले ६ महिना अघि सञ्चालनमा ल्याएको 'फेसेस लाउन्ज बार' खरानी भइसकेको थियो । 

news and entertainment