म बेढंगी हुँ सरकार चलाउन ढङ्ग पुगेन’- प्रचण्ड

काठमाडौ, जेष्ठ १६ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अगामी संविधानसभाको निर्वाचनमा जसरी भए पनि आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने बताएका छन् ।
उनले भने–“म प्रधानमन्त्री हुँदा राज्यसत्ता चलाउन ढङ्ग पुगेन, उपाध्यक्ष डा बाबुराम भट्टराईजी प्रधानमन्त्री हुँदा धेरै अप्ठ्यारा आए, अब कसरी सत्ता सञ्चालन गर्ने भन्ने अनुभव भयो, त्यसैले पार्टीलाई बहुमत चाहियो ।”
राष्ट्रिय उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै निर्वाचनमा बहुमत ल्याउन पार्टीले गृहकार्य सुरु गरेको जानकारी पनि दिए । राजनीतिक निकासका लागि नै निर्वाचनमा गएका हौँ, अब निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो ।
अध्यक्ष दाहालले पार्टीले सञ्चालन गरेको आन्दोलनका सहयात्री साथीहरू लम्पट सर्वहारा बन्ने हुन् कि भन्ने डरले पार्टीले उत्पादन , विकास निर्माण र व्यवस्थापनको कार्यनीति पारित गरेको जानकारी दिए ।
कार्यनीतिबारे थप व्याख्या गर्दै उनले धनी र गरिबबीचको असमान दूरीलाई अन्त्य गर्नु नै कार्यनीतिको लक्ष्य रहेको, वित्तीय भूमण्डलीकरणसँग जुध्दै उपभोक्तावादको यसले अन्त्य गर्ने बताए ।
कार्यनीतिलाई व्याहारिक रूपमा कार्यान्वयनमा ल्याउन आगामी कार्यसमितिको बैठकमा कार्यक्रमहरू प्रस्तुत गरिने जानकारी दिँदै उनले भने–“आर्थिक समृद्धिलाई छलाङ मार्ने कार्यक्रम ल्याउँछौँ ।”
अध्यक्ष दाहालले जलस्रोत, पर्यटन, कृषि तथा औद्योगिकीकरण गर्दै आफ्नै माटो सुहाउँदो अर्थनीति बनाउने पार्टीको नीति रहेको जानकारी दिए ।
पार्टीका उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ठूला पूर्वाधारमा निजी क्षेत्रलाई एकल रूपमा छाड्न नहुने धारणा राखे । उनले भने–“आयातलाई क्रमशः विस्थापित गर्दै आफ्नै स्रोतसाधनलाई उपयोग गर्ने नीति पार्टीले लिएको छ ।”
आफू प्रधानमन्त्री भएको सयममा दोहोरो आर्थिक वृद्धि दर हासिल गर्न उच्च प्राथमिकता दिएको जानकारी दिँदै उनले भने– “एउटा भैँसी, गाई, बाखा्र पालेर बारीमा दुईवटा खुर्सानीको बोट रोप्दैमा कृषिमा व्यवसायिकता आउँदैन ।”
उनले आर्थिक आधारमा परिवर्तन गर्ने माध्यम उत्पादन, निर्माण र व्यवस्थापन नै भएको विचार व्यक्त गरे ।
अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका साथसाथमा आर्थिक विकास पनि गर्न आवश्यक भएको विचार व्यक्त गरे । उनले भने- “जलस्रोत, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी बढाउन जनतालाई आह्वान गर्न जरुरी छ ।”
नेतृ उर्मिला अर्यालले सहकारीको माध्यमबाट जनताको आर्थिक पक्षलाई सुधार गर्न जोड दिइन् ।

news and entertainment