पाकिस्तानमा स्कुल बसमा आगलागी, १६ को मृत्यु
इस्लामावाद (एजेन्सी), जेष्ठ १२ - उत्तरी पाकिस्तानमा शनिबार बसमा भएको आगलागीमा १६ बालबालिका र उनीहरूका शिक्षकको मृत्यु भएको छ । बसका चालक सकुशल छन् । राजधानी इस्लामावाददेखि २ सय किमि दक्षिणपूर्व गुजरात सहरमा विद्यालयनजिकै भएको यो दुर्घटनामा घाइते भएका ७ बालबालिकालाई अस्पताल भर्ना गरिएको छ । हताहती हुनेमा ४ देखि १० वर्षका बालबालिका छन् । प्रहरीका अनुसार ग्यास सिलिन्डर भरिएपछि आगो लागेको प्रहरीले जनाएको छ । दुईखाले इन्धन प्रयोग हुने उक्त बसमा चालकले ग्यासबाट पेट्रोलबाट स्विच परिवर्तन गर्ने क्रममा आगोको झिल्को निस्केर आगलागी भएको थियो । बसको झ्यालबाट निस्केर ज्यान बचाएका दुई बच्चाले विस्फोट अघि ग्यासको गन्ध आएको बताए । 'हामीलाई बचाऊ, जलिरहेका छौं,' अरू बालबालिकाले गुहारेको उनीहरूले बताए । तीमध्ये एक बालकले भने, 'मैंले हिम्मत गरेर एउटा लौरोले सिसा फुटालेँ, मैंले उनीहरूलाई बचाउन खोजेँ, तर सकिनँ ।' पाकिस्तानको सवारीसाधनमा पेट्रोल र डिजेलको सस्तो विकल्पमा यस्ता प्राकृतिक ग्यासको प्रयोग गरिन्छ । ग्यास राख्न प्रयोग हुने कमसल सिलिन्डरले यस्तो दुर्घटना हुने गरेको बताइन्छ ।
