फनपार्कको पानीमा डुब्दा क्या मज्जा !

भक्तपुर, जेष्ठ १६ - बढ्दो गर्मीसँगै भक्तपुरको पलाँसेमा बुधबारदेखि फनपार्क सुचारु भएको छ । डेढ वर्षअघि निर्माण सुरु भएको पार्कको पर्यटन मन्त्री रामकुमार श्रेष्ठले उद्‍घाटन गरे । उद्घाटन
को दिन सञ्चालकले सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको थियो । काठमाडौं भ्याली फनपार्क नाम दिइएको पार्क १६ करोडको लागतमा निर्माण भएको सञ्चालकले दाबी गरे । ६२ रोपनी क्षेत्रफलमा रहेको पार्कमा समुद्री छालसहितका डेढ दर्जनभन्दा बढी खेल सञ्चालनमा छन् । पार्कमा पानीसम्बन्धी ४ र अन्य ११ वटा खेल रहेको काठमाडौं भ्याली फनपार्कका प्रबन्ध सञ्चालक दिनेश गिरीले बताए । साढे दुईदेखि ३ फिट गहिरो रहेको पोखरीमा एक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ । त्यस्तै बालबालिकाले ट्रेन, स्मलबन्जी, कारगेम, ब्रेकिङ डान्ससहितका विभिन्न खेलको आनन्द लिन सक्छन् ।
अत्याधुनिक सुविधासहित पहिलो पार्क भएको गिरीले बताए । पार्कमा थि्रडी हलका अतिरिक्त पााच सयजना अट्ने रेस्टुरेन्टको समेत व्यवस्था छ । पार्कमा एकैपटक ३ हजारसम्म अट्ने उनले बताए । गर्मी र जाडो दुवै मौसमका लागि उपयुक्त पार्कमा तोकिएको शुल्क तिरेपछि सबै खेलमा सहभागी हुन पाउँछन् ।
पार्क प्रवेश शुल्क जोडीको एक हजार र एकजनाको ६ सय रुपैयाँ तोकेको छ । पार्क सञ्चालकले लिने रकम महँगो भएको सर्वसाधारणको गुनासो छ । 'हुनेखाने वर्गलाई लक्षित भएको पाइयो,' पार्कमा भेटिएकी अनामनगरकी सुशीला खड्काले भनिन्, 'सबैले तिर्न सक्ने शुल्क हुनुपर्छ ।' एक बच्चासहित पार्क प्रवेश गर्दा कम्तीमा पनि १ हजार ४ सय रुपैयाँ प्रवेश शुल्क मात्रै तिर्नुपर्ने हुन्छ । धेरै छोराछोरी हुने र कम आय हुने परिवार पार्कबाट वञ्चित हुने भएका छन् ।
'धेरै सुविधा पाइने भएकाले त्यहीअनुसार शुल्क तय गरिएको हो,' गिरीले भने, 'सबैलाई पहँुच पुर्‍याउन बेलाबेलामा अफर पनि ल्याउँछौं । वाषिर्क ग्राहक बन्नेलाई शुल्क कम हुने उनले बताए ।'
चित्तपोल गाविसतर्फ सबै खेलको व्यवस्था गरेको छ । बिहान १० देखि ५ बजेसम्म पार्क सञ्चालन हुनेछ । शनिबार भने सात बजेदेखि नै सुरु हुनेछ ।

news and entertainment