देशभर नागरिकता सिफारिस ठप्प
काठमाडौ, जेष्ठ १२ -
देशभरका गाविस सचिवहरुले आजदेखि नारिकताको सिफारिस गर्ने काम ठप्प पारेका छन् । गलत व्यक्तिले झुक्याएर नागरिकता लिएको मुद्दामा आफूहरुलाई फसाईएको भन्दै गाविस सचिव हकहित केन्द्रले देशभर सिफारिसको काम रोकेको हो ।
हकहित केन्द्रका अध्यक्ष दामोदर रिजालले तराईमा घुम्ती सेवा केन्द्र सञ्चालनका
सेवाग्राहीलाई तत्काल नागरिकताको सिफारिस गर्नुपर्ने बाध्यता रहेको र पछि छानविनका क्रममा फर्जी भेटिए सचिवलाईलाई पनि फसाउन थालेपछि बाध्य भएर विरोध गर्नुपरेको बताए । ‘हाम्रो माग पुरा नभएसम्म कुनै हालतमा नागरिकताको सिफारिस हुँदैन’ उनले भने ।
पछिल्लो समय कपिलबस्तु, सप्तरी, नवलपरासी, सिराहा, सर्लाही लगायतका जिल्लामा गलत व्यक्तिलाई नागरिकता दिएको भन्दै गाविस सचिवहरु पक्राउ परेका थिए । दलका नेताहरुले समेत दवाव दिएर सिफारिस गर्नुपर्ने र कतिपय व्यक्तिलाई चिन्न गाह्रो हुने भएकाले अहिलेको अवस्थामा नागरिकता वितरण गर्न नसकिने सचिवहरुको भनाई छ । केन्द्रले आईतवार मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।
सचिवहरुको आन्दोलनले नागरिकता वितरणको काम ठप्प भएको छ । यसले गर्दा नयाँ नागरिकता लिन चाहने सेवाग्राही मर्कामा परेका छन् भने नागरिकता अनिवार्य भएकाले फोटो सहित मतदाता परिचयपत्र निर्माण पनि प्रभावित भएको छ ।
