पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफलाई मार्ने धम्की :

जेष्ठ - पाकिस्तानको तालिबान समूहले आइतबार पूर्व सैनिक शासक परवेज मुसर्रफलाई मार्ने धम्की पुनः दिएको छ । हाल अनेकौं आरोप लागेका उनी प्रहरी हिरासतमा छन् ।
उनीमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्या गरेको, सन् २००७ मा आपतकाल लागू हुँदा न्यायाधीशलाई बर्खास्त गरेको तथा बलुचका एक विद्रोही नेताको सन् २००६ मा भएको हत्यामा संलग्न भएको आरोप लगाइएको छ ।
मुसर्रफ मार्च महिनामा पाकिस्तान फर्किएका थिए । तेहरिक-ए-पाकिस्तान (टीटीपी) ले अमेरिकी नेतृत्वमा भएको आतंकवादविरुद्धको युद्धमा संलग्न भएको आरोपमा उनलाई हत्या गर्ने चेतावनी दिएको थियो । उनले आफू शासनमा रहँदा लडाकुहरूमाथि पनि नियन्त्रण कायम गरेका थिए । तेहरिक-ए-तालिवान पाकिस्तान (टीटीपी) का प्रवक्ता एहसानुल्लाह एहसानले तालिबानको वेबसाइटमा आइतबार एक नयाँ चेतावनीयुक्त भिडियो सन्देश जारी गरी मुसर्रफलाई दण्ड दिइने बताएका हुन् ।
सन् २००७ मा मुसर्रफले कट्टरपन्थीहरूले नियन्त्रमा लिएको रातो मस्जिदमा कारबाही गर्न सेनालाई आदेश दिएका थिए । उक्त कारबाहीमा सयभन्दा बढीको मृत्यु भएको थियो भने यसपछि पाकिस्तानमा इस्लामीहरूले अनेकौं आक्रमण गरेका थिए ।
पूर्वसैनिक  शासकलाई हिरासतमा लिनु पाकिस्तानमा अभूतपूर्व कार्य हो । यस मुलुकको इतिहासको आधाभन्दा बढी समय सेनाले शासन चलाएको छ । यसलाई सशस्त्र सेनाले शासन नियन्त्रणमा लिने कुराका लागि चुनौती ठानिएको छ ।

news and entertainment