सूर्यबहादुर र राजेश्वरबीच मञ्चमै सवाल-जवाफ


३ जेठ, काठमाडौं । शुक्रबारबाट राजधानीमा सुरु भएकोपूर्वपञ्चहरुको पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनमा राजतन्त्रबारे सवाल जवाफ भएको छ । वरिष्ठ नेता राजेश्वर देवकोटाले आफूले सकेको भए राजतन्त्र जान नदिने भन्दै राजतन्त्र र्फकन सक्ने बताएपछि राजपा अध्यक्ष सूर्यबहादुर थापाले बाल्यकाल मन पर्छ भन्दैमा नांगै हिँड्न नसक्ने कडा जवाफ दिनुभएको छ ।
दुई पार्टीवीचको एकता महाधिवेशन भनिए पनि उद्घाटन समारोहमै नेताहरुवीच स्पष्ट दुई धार देखिएको हो । राजावादी धारको नेतृत्व राजेश्वर देवकोटाले गर्नुभएको छ भने गणतन्त्रवादी धारको नेतृत्व सूर्यबहादुर थापाले । नेताहरुले मञ्चबाटै वैचारिक सवाल-जवाफ गरेका छन्, तर व्यक्तिगत गालीगलौचको स्तरमा नभई सभ्य तरिकाले । तर, कार्यकर्ताले भने थापा र देवकोटाको दुई लाइन स्पष्ट महसुस गरेका छन् ।
सकेको भए राजतन्त्र जान दिने थिइँन : देवकोटा
भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा वरिष्ठ नेता राजेश्वर देवकोटाले नेपालमा राजतन्त्र र्फकन सक्ने बताउनुभएको छ । संसदले हटाएको राजतन्त्र संसदले फर्काउन सक्ने उहाँको दाबी छ । स्पेनलगायतका देशमा राजतन्त्र फर्किएको उदाहरण दिँदै देवकोटाले भन्नुभयो-कुनै पनिबेला परिस्थितिले राजतन्त्रलाई फेरि ल्याउन सक्छ । तर, ल्याउनका लागि म आफैं अघि सरेको हैन’ उहाँले भन्नुभयो-’म शक्तिमा भएको भए राजतन्त्र जान नै दिने थिइँन । शक्तिमा नभएकाले ल्याउँछु भनेर भन्न सक्दिँन ।’संसदको एउटा बैठकले राजतन्त्र अन्त्यको घोषणा गर्दैमा र्फकने ढोका बन्द भयो भन्न नहुने देवकोटाको भनाइ छ । ‘एउटा संसदले गरेको फैसला अर्को संसदले बदर गर्न सक्छ ।’आफू राजावादी भएको भन्दै उहाँले भन्नुभयो-’यसले विचारको ढोका बन्द गर्न सक्दैन ।’
नाङ्गै हिँड्न सक्दिँन : थापा
राजपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले भने व्यक्ति र राष्ट्रको जीवन एउटै किसिमको हुने बताउँदै बाल्यकाल मन पर्यो भन्दैमा नांगै हिँड्न नसक्ने बताउनुभयो ।’ अहिले म बाल्यकाल सम्झेर बसेको हुन्छु । तर, मैले अहिले बाल्यकाल चाहेर त्यो स्थिति आउन सक्दैन । म विना कपडा नांगो भएर सबैको अगाडी उपस्थित हुन सक्दिँन । थापाले भन्नुभयो- ‘राष्ट्रको जीवन पनि त्यही नै हो । परिर्वतन भएको समय हामी व्यक्ति-व्यक्तिलाई राम्रो लाग्दो हो । तर राष्ट्रले एक परिर्वतन गरेर त्यसमा प्रवेश गरेर हिँडेपछि पुराना कुरा सम्झेर, पुराना कुरा लागू गर्छु भनेर सकिँदैन । कदापी पनि सकिँदैन ।’
यो पनि पढ्नुस्
वाल्यकाल मनपर्छ भन्दैमा नांगै हिँड्न सक्दिँन
थापाले देवकोटालाई व्यंग्य गर्नुभयो- ‘हामी कविता लेख्न सक्दछौं, हामी कथा लेख्न सक्दछौं । हामी अनेक किसिमका कितावहरु लेख्न सक्दछौं । तर, यथार्थमा परिर्वतन भइसकेपछि पुरानो काललाई यर्थाथमा उतार्न सक्दैनौं ।’संघीयता र गणतन्त्र मधेसले मात्रै ल्याएको नभएर परिवर्तनको आवाज भएकाले त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्नेमा थापाले जोड दिनुभयो । परिवर्तनको प्रवाहलाई रोक्न नहुने भन्दै राष्ट्रलाई गति दिन निर्वाचनमा जानुपर्नेमा थापाले जोड दिनुभयो ।थापाले देवकोटाको विचारप्रति लक्षित गर्दै निकै समय खर्चेर सम्बोधन गर्नुभएको थियो । राजनीति परिवर्तनशील हुने र यसको प्रवाहलाई पछाडि धकेल्न नहुने उहाँले बताउनुभयो ।
अधिवेशनमा कसले जित्ला ?
देवकोटा र थापाको भाषण सुन्दा यस्तो लाग्थ्यो, राप्रपाभित्र सांगठानिक रुपमा पार्टी एकता भए पनि वैचारिकरुपमा राजतन्त्र, गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई हेर्ने विषयमा दुई लाइन संघर्ष यथावत छ । अब भाटभटेनीमा हुने महाधिवेशनको बन्दशत्रले थापाको राजनीतिक लाइनलाई पारित गर्ला या देवकोटाको ? यो विषय तीन दिनपछि टुंगो लाग्नेछ । तर, महाधिवेशन शुरु नहुँदै दीपक बोहोरालगायतको नेतृत्वमा धर्ना र नारावाजीको सामना भने नेताहरुले गर्दै आएका छन् । यसमा देवकोटाको पनि साथ रहेको बताइएको छ ।
उद्घाटन शत्रमा भारतीय कांग्रेसका प्रतिनिधि, राजदूतहरु एवं विभिन्न दलका नेताहरुलाई समेत निम्त्याइएको थियो । कार्यक्रममा सम्बोधन पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपा अध्यक्ष पशुपतिसमशेर राणा र राजपा नेता प्रकाशचन्द्र लोहनीलगायतले मन्तव्य व्यक्त गर्दै राप्रपालाई वैकल्पिक प्रजातान्त्रिक शक्ति बनाउने बताएका थिए ।

news and entertainment