"जहाँ गए नि नेपालकै झल्को छ"

बबरमहलस्थित पि्रज्म स्टुडियोको अतिथि कक्षमा गायक प्रेमराजा महतले सुरुमै यही गीत सुनाए । पहिल्यै रेडर्क गरेर बजारमा आइसकेको र अमेरिकाका थुप्रै राज्यमा यही गीत गाउँदै विभिन्न लोक सांस्कृतिक फेस्टिभलहरू समेत चहारिसकेका प्रेमराजा मंगलबार साँझको भेटघाटमा भने सम्झनाको लागि गीतका पंक्ति सुनाउँदै थिए । झन्डै दुई दशकदेखि अमेरिका बस्दै आएका उनी एकैछिन् अघि एरेन्जर बिबी अनुरागी र म्युजिक डाइरेक्टर नारायण रायमाझीका साथ नयाँ एल्बम 'तिम्रो बोली'का गीत रेकर्ड गरिरहेका थिए । 'कुरा गाउँबाटै थालौं न,' तनहुँको ढोरफिर्दीमा जन्मेहुर्केका र काठमाडौं आई लामो समय रेडियो नेपालमा काम गरी अमेरिका हानिएका गायकले भने, 'किनभने मैले जुन संस्कृति सिकें, गीतका गेडाहरू टिपें, लय बटुलें, त्यसमा गाउँको परिवेशले निकै ठूलो भूमिका खेलेको छ ।' यसपछि उनले आफूलाई पहिलोपटक संगीतको स्टेजमा उभ्याएको लोकगीत प्रतियोगिता सम्झे, जसमा उनी पहिलो भएका थिए, र त्यही जितको खुसीयालीमा डोहोरिएर उनी काठमाडौं आइपुगेका थिए । संगीत पढ्न उनी आरआर क्याम्पस भर्ना भएका थिए, तीसको मध्यदशकबाटै रेडियो नेपालमा उनको स्वर बज्न थालेको थियो ।
पहिलोपटक गण्डकी अञ्चलको लोकभाका टिपेर बमबहादुर कार्कीसँग 'खोला पारी निरमाया' एल्बम निकालेका उनलाई त्यसयता निकालेका 'पानको पात', 'सिमसिमे पानीमा', 'हिउँचुलीमा हिउँ', 'फूल फुल्दा साइली' लगायत दर्जनौं एल्बमले स्थापित छविमा उभ्याइदियो । रेडियो नेपालको लोकसंगीत प्रवर्द्धक छँदाछँदै पचासको सुरुवाती दशकमा अमेरिका पुगेका उनी त्यसयता पनि लगातार तिनै गण्डकी आसपासको सांस्कृतिक/सामाजिक स्वाद बोकेका एल्बहरूमा सुनिँदै आएका छन् ।
'आफ्नोपनको मोह भनेको पनि अनौठो हुँदो रहेछ,' बाल्टिमोर राज्यमा सपरिवार बस्दै आएका उनी भावुक देखिए, 'घरमा विभिन्न ठाउँबाट सारंगी मात्रै सात संकलन गरेको छु । बाँसुरी, धिमे, मादल र अन्य लोकबाजाहरूको थात देख्दा अमेरिकी साथीहरू 'तिम्रो घर त लोकबाजा संग्रहालयजस्तै पो रहेछ भन्छन् ।' कहिलेकाहीं उनी यी सबै बोकेर लोक सांस्कृतिक फेस्टिभलतिर गइदिन्छन् र गाउँदै नेपालको सांस्कृतिक प्रवर्द्धन गर्छन् । मेरिल्यान्ड र पेन्सिलभानिया राज्यका लागि नेपाली महावाणिज्य दूतसमेत रहेका उनले आउँदो अगस्टमा मेन राज्यमा हुन लागेको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा नेपाली बाजाको मिनी संग्रहालय नै उभ्याउँदै छन्, जहाँ उनले 'बुद्ध एन्ड माउन्ट एभरेस्ट इज प्राइड अफ नेपाल' थिममा गाउने छन् । 'मसँग एउटा टिम छ अमेरिकामै,' उनले आफ्नो सांस्कृतिक प्रवर्द्धन अभियानबारे भने, 'बिदेसिएका धेरै नेपालीहरू तन र मन मात्रै हैन पन पनि आफ्नै बनाउने धुनमा लागिरहेका हुन्छन् । एउटा कलाकर्मीको रूपमा त्यसको प्रवर्द्धनलाई आफ्नो अहम् दायित्व ठानेको छु ।'
देशबाहिरका नेपालीमाझ अचेलको ताजा बहसको विषय पनि यही बन्दै गइरहेको छ । धेरै अभिभावकहरू अब विदेशमै हुर्केका नेपाली पुस्ताको सांस्कृतिक छवि कस्तो हुन्छ ? भन्नेबारे चिन्ता गर्छन् । कुराकानी क्रममा प्रेमराजाले पनि निधार खुच्याए । 'हो, अहिले हामी आफ्नो माटोको सम्झनामा गाउँघरसम्म आइपुगेर लय र जीवनशैली टिपेर जान्छौं,' उनले भने, 'उतै हुर्किबढेको पुस्तामा यस्तो खाले 'अट्याचमेन्ट' पक्कै पनि हुने छैन ।' त्यही भएर पनि प्रेमराजा डायस्पोराको यही पुस्तामा सक्दो सांस्कृतिक प्रवर्द्धन गर्न चाहन्छन् । 'किनभने अभिभावकले भाषा र संस्कृतिमा सम्झौता गरेको छैन भने त्यो ज्ञान छोराछोरीमा पनि सर्छ,' उनले अनुभव सुनाए, 'अमेरिकामा अहिले त्यही भइरहेको छ ।'
सांस्कृतिक ज्ञानको हस्तान्तरणकै लागि प्रेमराजा र गायिका मीरा राणाले आ-आफ्ना नामको अघिल्लो अक्षर मिलाए भर्जिनिया र बाल्टिमोरमा प्रेमी कला केन्द्र पनि खोलेका छन्, जसमार्फत उनीहरू अमेरिकामै हुर्किबढेको तन्नेरी नेपाली पुस्तालाई 'कल्चरल रुट'को बोध गराउन चाहन्छन् । यतिबेला धमाधम रेकर्ड भइरहेको नयाँ एल्बम 'तिम्रो बोली'लाई पनि उनले यसको एउटा दस्तावेजको रूपमा व्याख्या गर्न चाहे । 'पैसाको लागि एल्बम निकाल्न खोजेको हैन,' आफ्नै स्वर, संगीत र संकलनमा दसवटा गीत समेटिने एल्बमबारे उनले भने, 'अमेरिकामा यो सांस्कृतिक प्रवर्द्धनको एउटा गतिलो साधन हुनेछ ।' उनको अनुभवमा नेपालमा एल्बम निकाल्ने मात्रै हो, व्यवस्थित बजार नहुँदा रातारात चोरिएर गीतहरू पेनड्राइभ, मोबाइल र आइपडहरूमा पुगिहाल्छन्, स्रष्टाचाहिँ सधैं मारमा । तर अमेरिकामा भने एल्बम राम्रै जाने उनले सुनाए । 'प्रवर्द्धन गर्न जानियो भने थुप्रै त अमेरिकीहरूले नै पनि किन्छन्,' उनले भने, 'नेपालीहरू संस्कृतिप्रेमीहरू त छँदैछन् ।'
सोलो र ग्रुपसमेत गरी यसपटक उनी ५८ औं एल्बममा काम गर्न नेपाल आइपुगेका हुन्, एल्बममा नेपाली संस्कृति, राजनीति, द्वन्द्वदेखि जीवनशैलीका अनेक मौलिकतासमेत खोतल्दै तयार पारिएका गीतहरू हुने उनले सुनाए । 'प्रायः म ड्राइभिङ गर्दा कन्सेप्ट र शब्द बुन्छु,' उनले आफ्नो लेखनबारे पनि भने, 'अनि सांझ घर फर्केपछि लेख्छु ।' झम्के साँझले छोप्दै गर्दा उनी फेरि पि्रज्म स्टुडियोतिर छिरे, एल्बमकै गीत गुन्गुनाउँदै- कहाँ पुगी रोइरा'को होला घर छोडी हिँडेको नेपाली.

news and entertainment