एनआरएन अध्यक्षमा शेष घलेको उम्मेदवारी

२२ जेठ, सिड्नी । अध्यक्ष जीवा लामिछानेले अर्को कार्यकालका लागि उम्मेदवार नबन्ने घोषणासँगै अष्ट्रेलियाका धनाढ्यको सूचीमा रहेका शेष घलेले गैरआवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
गत हप्ता गैरआवासी नेपाली संघ अष्ट्रेलियका पदाधिकारीहरुको सिड्नीमा भएको भेलामा घलेले आगामी कार्यकालको लागि उम्मेदवार बन्न राजी भएको एनआरएन अष्ट्रेलियाका अध्यक्ष गणेश केसीले जानकारी दिए । केसीले भने-’सात आठ महिना अघिदेखिनै यो विषयमा कुरा चलिरहेको थियो तर अहिले आएर उहाँले ‘ओके’ भन्नुभयो ।’
एनआरएनको जुन २३ मा स्विजल्याण्डको ज्युरिचमा हुने युरोप बैठकमा आफुले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने घलेले जानकारी दिएका छन् । ‘बैठकमा अन्य देशका पदाधिकारीहरुको पनि भनाई सुन्छु र आफ्नो उम्मेदावरीबारे पनि कुरा राख्छु’ घलेले अनलाइनखबरसँग भने । अस्ट्रेलिया लगाएत थुप्रै
देशमा बसोवास गर्ने साथीहरुको सुझाव र एन आर एन अभियानले उठाएका मुद्दाहरु कार्यान्वयन गर्न सक्ने योजना आफूसँग भएकोले संघको नेतृत्वको लागि रुची देखाएको घलेले प्रष्ट पारे । “यो मेरो चाहना मात्र हो, बिभिन्न देशका एनआरएन अभियान्ताहरुको सल्लाह र सहमतिअनुसार अगाडि बढ्नु पर्छ’- घलेले भने ।
एनआरएनएका ओसिनिया संयोजन मन केसीले लामो समयदेखिको छलफल र अस्ट्रेलियाका एनआरएन साथीहरुको सुझावको आधारमा घले भावि नेतृत्वका लागि तयार भएको बताए । घलेको नाम भावि अध्यक्षको रुपमा चर्चामा आएपछि अष्ट्रेलिया, युरोप, अमेरिकालगायतका क्षेत्रबाट मिश्रति प्रतिक्रिया आएका छन् ।
घलेसँगै संघका संस्थापक तथा संरक्षक रामप्रताप थापा पनि पछिल्लो अध्यक्ष पदको दावेदारका रुपमा देखिएका छन् । यस्तै अर्का अध्यक्ष पदका दावेदार बेलायती सेनाका अबकाशप्राप्त क्याप्टेन हितमान गुरुङ हुन् । थापा देवमान हिराचनको कार्यकालदेखि नै अध्यक्षको दावी गर्दै आएका छन् ।
वर्तमान अध्यक्ष जीवा लामिछानेले अर्को कार्यकालका लागि आफु उम्मेदवार नभएको भन्दै नयाँ नेतृत्वबारे छलफल थाल्न एनआरएनका फोरमहरुमा आग्रह गर्दै आएका छन् ।
आगामी अक्टुवरमा काठमाण्डौमा एनआरएनको छैटौं बिश्व सम्मेलन हुँदैछ ।A

news and entertainment