नियम पालना गर्ने कसम खुवाउदै छाड्दै


काठमाडौ, फाल्गुन ७ - नियम उलंघन गरे ट्राफिकले कारबाही गर्छ भन्ने सबैको सोचाई छ । अरुबेला नियम उलंघन गरेपनि ट्राफिक देखेपछि पालना गर्ने बानी छ । समान्य गल्ती गरेपनि कम्तीमा एक सय रुपैया जरिवाना तिर्नु पर्ने हुन्छ । ट्राफिक प्रहरीले आइतबारदेखि नियम उलंघन गर्ने मोटरसाइकल चालकसंग लाइसेन्स, बिलबुक लिएर २४ घण्टे चिट काट्दैन ।

सडकको खुला क्षेत्रमा लगेर नियम उलंघन नगर्ने कसम खानु पर्ने हुन्छ । ट्राफिक निगरानीमा परेका यस्त्ाा व्यक्तिको तीन पुस्ते विवरण, शैक्षिक योग्यता, पेशा लगायत टिपाउनुपर्ने हुन्छ । अनि बढीमा १० मिनेट ट्राफिक नियम सम्बन्धि जानकारीमुलक प्रवचन सुन्नु पर्ने हुन्छ । सडकमा दिइने कक्षामा ट्राफिक नियम सम्बन्धि टिप्स हुन्छ । जरिवाना गरेर मात्रै नियम उलंघन गर्ने प्रवृति नरोकिएपछि ट्राफिकले जनचेतनामा जोड दिएको हो । 'कारबाही भन्दा पनि जनचेतनालाई जोड दिएका छौ,'महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआइजी केशव अधिकारीले भने,'अभियानको एक सतासम्म पनि सुधार नआए जरिवाना गर्छौ ।' ट्राफिकले लेन अनुसाशन पालनामा कडाई गरेको छ ।

अन्य सवारीको तुलनामा मोरटसाइकल चालकको लापरबाहीले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । पहिलो चरणमा मोटरसाइकल चालकलाई काठमाडौंको महाराजगन्ज, दरबारमार्ग, जयनेपाल, सिंहदरबार, कालीमाटी, बानेश्वर, गौशला, चाबहिलमा यो अभियान चलाएको छ । अधिकारीका अनुसार सोमबारसम्म २ हजार ७ सय ५८ जनालाई जनचेतना गराइसकेको छ ।

सोमबार थापाथलीमा प्रशक्षिणमा नेतृत्व लिएका प्रहरी निरिक्षक राजेन्द्र पोखरेलले नियम उलंघन गर्ने चालकलाई आगामी दिनमा नियम उलंघन नगर्ने भन्दै 'कसम' खुवाइरहेका थिए । ट्राफिक कक्षामा सहभागिलाई उनले भने,'अब देखि ट्राफिक नियम उलंघन नगर्ने बाचा गर्नुस । सुरक्षित हुने भए बाचा गरेर जानुस् असुरक्षित भएरै चलाउनु हुन्छ भने बाचा नगर्नुस ।' उनले राखेको प्रस्तावतलाई सहभागिहरुले छातिमा हातमा राखेर सबैले सामुहिक भने,'अब देखि नियम पालना गर्छु ।' सहभागिले जरिवाना गर्ने भन्दा पनि यस्ता जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने बताएका छन ।

लेन पालना पालना नगर्ने, हेल्मेटको बेल्ट नबाध्ने, जेब्रा क्रसमा रोकेर नियम उलंघन गर्ने, लुकिङ ग्यालस प्रयोग नगर्ने लगायतलाई कक्षा लिने गरेको छ । दुई वा दुई भन्दा बढी लेन भएको सडकमा दाया तर्फको सडकमा जाम छ भने बाया तर्फबाट अगाडि बढने मोटरसाइकललाई बढी निगरानीमा राख्ने गरेको छ । दाया तर्फ गाडी रोकेको बेला मोटरसाइकल अगाडि गएर बाया लेननै अवरोध गर्ने गर्छन । यस्ता कार्यले आकस्मिक सेवाका सवारी समेत आवातजावतमा अवरोध हुन्छ । 'दाहिने तर्फ जाने सवारी आफनै लेनमा बस्ने हो भने २५ प्रतिशत जाम कम हुन्छ,'प्रशिक्षणमा पोखरेलले भने ।

ट्राफिकले दिने प्रशिक्षणमा काठमाडौंको सडकमा ४० भन्दा बढी गतिमा चलाउन नहुने, त्यसमा पनि अस्पताल, विद्यालय क्षेत्रमा प्रतिघण्टा २०को गतिमा चलाउन आग्रह गर्ने गरेको छ । त्यस्तै साइड बत्ती बालेर मात्रै ओभरटेड मोडन र ओभरटेक गर्न सम्झाउने गरेको छ । हेल्मेटको फिता नबान्दा दुर्घटनामा ज्यान समेत जाने भएकोले आफनो सुरक्षा आफै गर्न ट्राफिकले आग्रह गर्ने गरेको छ ।

ट्राफिकले आदर्शको भाषण मात्रै दिदैन । सडकको कक्षामा सहभागिलाई यात्राको अवधिमा दुर्घटना नपरोस भनेर शुभकामना समेत दिने गरेको छ । थापाथलीको कक्षामा प्रहरी निरिक्षक पोखरेलले शुभकामना दिदै भने,'तपाईको जीवनमा चोटपटक नलागोस । सवारीले किचेर कमिला पनि नमरोस ।'

जनचेतनाका लागि एक स्थानमा प्रहरी निरिक्षक सहित कम्तीमा पाच जनाको टोली खटिने गरेको छ ।

,

news and entertainment