मन्त्रालयको विषयलाई लिएर सुरु भयो रडाको

काठमाडौं,माघ २७– व्यवस्थापिका संसदले प्रधानमन्त्री चयन गरेसँगै दलभित्र र बाहिर मन्त्रालयको विषयलाई लिएर रडाको सुरु भएको छ । दलहरुबीचमा रहेको मन्त्रालयको विवाद अहिले पार्टीभित्रका विभिन्न गुट र उपगुटमार्फत प्रकट हुन थालेका छन् । एमाले र कांग्रेसले मन्त्रालयको विषयलाई लिएर आ–आफ्नो दावी पेश गरिरहेका बेला यो रोग पार्टीभित्रकै गुट र उपगुटमा देखिएको हो । पार्टी सभापति सुशिल कोइराला

प्रधानमन्त्रीमा निर्वाचित भएसँगै कांग्रेसमा मन्त्रालयको विषयलाई लिएर गलफती चल्न थालेको छ । देउवालाई संसदिय दलको नेतामा हराएर संसदिय दलको नेतामा बाजी मार्न सफल भएका सुशिल कोइरालाले देउवा पक्षलाई पाखा लगाउन खोजेको आशंका गर्दै देउवा पक्षले आफ्नो गुटलाई सम्मानजनक रुपमा व्यवस्थापन गर्नु पर्ने माग कांग्रेसभित्र जोडदार रुपमा राखेको छ । त्यसैले देउवा पक्षले मन्त्रालय भागबन्डाको विषयलाई आफ्नो प्रतिष्ठाको लडाइ बनाएको छ । उता, कोइराला पक्षमा भने एकपछि अर्को जीतले दम्भ बढ्दै गएको देखिन्छ । संसदिय दलको नेतासँगै प्रधानमन्त्रीमा निर्वाचित हुनुलाई उसले आफ्नो सवलताको रुपमा हेर्न थाल्नुले पनि कांग्रेसभित्रको महाभारत त्यत्तिकै साम्य हुने देखिँदैन । बरु कांग्रेस सरकारका लागि पार्टीभित्रैबाट खतरा हुने त होइन भन्ने आशंका समेत कोइरालाको सिंहदरवार प्रबेश लगत्तै उव्जिएको छ । ‘संस्थापनमा जितको दम्भ बढेर गएको छ,’देउवा पक्षिय एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने,‘यदि आफुलाई नै सर्वेसर्वा ठानेर संस्थापन पक्ष अघि बढ्छ भने उसका लागि बाह्य भन्दा पनि आन्तरिक चुनौती नै सबैभन्दा टाउको दुखाइको विषय हुनेछ ।’ कोइराला गुटमै लफडा नेपाली कांग्रेसभित्र गृह मन्त्रालय एमालेलाई दिएको विषयलाई लिएर आन्तरिक कचिंगल सुरु भएको छ । व्यवस्थापिका संसद भवनबाट प्रधानमन्त्रीमा निर्वाचित सुशिल कोइराला सिंहदरवार प्रबेश गर्न नभ्याउँदै सुरु भएको कांग्रेसभित्रको आन्तरिक लफडाले अहिले बिशेष चर्चा पाएको छ । एकातिर को–को मन्त्री बन्ने भन्ने विषयमा आपसी द्वन्द चुलिएको छ भने अर्कातिर एमालेलाई मालदार मन्त्रालय दिने सहमति गरेको विषयमा पनि कांग्रेसभित्रका केही नेताचित्त दुखाएका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले त मुखै फोरेर एमालेलाई गृह मन्त्रालय दिने विषयमा असन्तुष्टी जनाएका छन् । एमालेलाई मालदार मन्त्रालय दिन आनाकानी गर्ने एउटा पक्ष कांग्रेसभित्र बलियो हुनु र एमालेले पनि आफ्नो दावी प्रस्तुत गर्नुले पनि सरकारको यात्रा उति सुखद हुने देखिँदैन । एमालेमा पनि उस्तै गलफति नेकपा एमालेभित्र पनि सरकारमा सहभागिताको विषयलाई लिएर बिवाद जन्मने पर्याप्त आधारहरु देखा परेका छन् । पार्टीभित्र खनाल र नेपाल पक्ष कमजोर भएको स्थितीमा ओली मन्त्रालयका विषयमा संस्थापन पक्षसँग दपेर निर्णय गरिहाल्ने मनस्थितीमा देखिन्न । पार्टीमा कमजोर पोजिसन हुँदा त हप्काउन र दप्काउन नछाड्ने ओलीले आफ्नै हातमा डाडुपन्यु भएको फाइदा गतिलैसँग उठाउन कुनै कसर बाँकी राख्ने छैनन् । तर ओलीको हप्की र दप्कीबाट खनाल नेपाल पक्ष पछि हटि नै हाल्लान भन्ने कुरामा त्यति धेरै दम देखिँदैन । त्यसैले एमालेको लागि अवको पार्टीभित्रको शक्ति सन्तुलन अर्को चुनौतीको रुपमा उभ्भिने देखिन्छ,जसले सरकारको यात्रामा थप समस्या निम्त्याउने छ । उता एमालेभित्र रहेको विभिन्न गुट र उपगुट पनि सरकारका निम्ती त्यत्तिकै चुनौतीका रुपमा खडा हुनेछन् । सरकारमा सहभागि हुने आकांक्षीहरुको अभिष्ट पुरा गर्ने चुनौती त अझै बाकीँ नै छ ।

,

news and entertainment