नयाँ सरकारमा एमालेको नेतृत्व उपाध्यक्ष वामदेव गौतमले गर्ने

काठमाडौँ, २७ माघ, नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा बन्ने नयाँ सरकारमा एमालेको नेतृत्व उपाध्यक्ष वामदेव गौतमले गर्नुहुने भएको छ ।  संविधानसभा भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।  उपाध्यक्ष गौतमलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीसहितको

जिम्मेवारी दिएर सुरुमा पार्टीका तर्फबाट सरकारमा सहभागी गराउने बैठकले निर्णय गरेको स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले जानकारी दिनुभयो ।  बैठकले काँग्रेसको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि काँग्रेस र एमालेबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।  एमालेले प्रधानमन्त्रीमा समर्थन गर्ने भएपछि काँग्रेसले संविधानसभाका अध्यक्षमा एमालेलाई सघाउने लिखित प्रतिबद्धता गरेको छ ।  बाँकी मन्त्रालयको बाँडफाँट तथा सत्ता समीकरणका लागि वार्ताटोलीलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।  एमालेले सत्ता समीकरणका लागि वार्ता गर्न उपाध्यक्ष गौतमकै संयोजकत्वमा सचिव विष्णु पौडेल सदस्य रहेको दुई सदस्यीय वार्ताटोली गठन गरेको छ ।  सो वार्ता टोलीले काँग्रेससँग छलफल गरी मन्त्रालयको बारेमा गृहकार्य गरेपछि पार्टीमा छलफल गरेर त्यसलाई टुङ्ग्याउने निर्णय बैठकमा भएको एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।  कोइराला नेतृत्वको सरकारमा काँग्रेसका तर्फबाट पहिलो चरणमा प्रकाशमान सिंह, डा। रामशरण महत, डा. नारायण खड्का, एकजना मधेसी तथा एकजना जनजाति मन्त्री सरकारमा पठाउने तयारी काँग्रेसले गरेको स्रोतले बतायो ।

,

news and entertainment