सभासद्हरूले संसद् यस्ता अपशब्द बोले
१३ फागुन,काठमाडौं । सभासद्हरूले संविधानसभा र व्यवस्थापिका संसद् बैठकमा शृंखलाबद्ध रूपमा असभ्य शब्द प्रयोग गर्न थालेका छन् । गत ८ फागुनमा सुरु भएको संविधानसभा बैठक र १२ फागुनदेखि सुरु भएको व्यवस्थापिका संसद् बैठकमा सभासद्हरूले नेपाली समाजले असभ्य ठानेका शब्द प्रयोग गर्दै आएका छन् ।
ज्येष्ठ सदस्यको नाताले यसअघि सभामुख र अध्यक्षको भूमिका खेलेका सूर्यबहादुर थापा र गत ६ फागुनमा सभामुखमा निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ दुवैले रेकर्डबाट ती शब्दावली हटाएका छैनन् । पछिल्लो पटक सोमबार बसेको संसद् बैठकमा फोरम लोकतान्त्रिकका सभासद् जनकराज चौधरीले कैलालीको विकासका लागि सरकार ‘अन्धो, बहिरो र लाटो’ भएर बसेको भनाइ राखे । त्यो शब्दले अन्धो, लाटो र बहिराको मानमर्दन गरेको भए पनि सभामुख नेम्वाङले त्यसलाई रेकर्डबाट हटाउन रुलिङ गरेनन् ।
यसैगरी, सोमबारकै बैठकमा खम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राईले कामी, दमाई र सार्कीलाई तल्लो जाति भनेर सम्बोधन गरे । उनले कामीलाई विक, दमाईलाई दर्जीको नामले सम्बोधन गर्नुपथ्र्यो । त्यस्तै, उनले मधेसी मूलका मान्छेलाई कालो छाला भएकालाई मान्छे भनिदैनथ्यो भन्दै मधेसीलाई होच्याएजस्तो गरी बोलेका थिए । उनले मधेसीलाई सम्बोधन गर्दा मधेसी समुदायका व्यक्ति भनी सम्बोधन गर्नुपथ्र्यो । संविधानसभा र संसद् बैठकमा सभासद्हरूले संसदीय मूल्य, मान्यतालार्ई ख्याल नै नगरी बोल्दा संसद्जस्तो स्थान पनि असभ्यतातर्फ जाने खतरा हुने हुँदा सबै सभासद्ले बोल्दा शब्दप्रति अत्यन्त ख्याल गर्नुपर्ने हुन्छ ।
गत ६ फागुनको संविधानसभा बैठकमा सभाध्यक्षको निर्वाचन कार्यक्रममा सभासद्हरू बोल्ने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्विटरमा लेखिएको भनाइ उद्धृत गर्दै भने, ‘सुवास नेम्वाङ यस्ता शिक्षक हुन् उनको कक्षामा केटीलाई पछाडिबाट चकले हान्न पाउँछन् ।’ यो वाक्य पनि संसदीय मूल्य, मान्यताविपरीत नै छ ।
गत ६ फागुनको संविधानसभा बैठकमा सभाध्यक्षको निर्वाचन कार्यक्रममा सभासद्हरू बोल्ने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्विटरमा लेखिएको भनाइ उद्धृत गर्दै भने, ‘सुवास नेम्वाङ यस्ता शिक्षक हुन् उनको कक्षामा केटीलाई पछाडिबाट चकले हान्न पाउँछन् ।’ यो वाक्य पनि संसदीय मूल्य, मान्यताविपरीत नै छ ।
यसैगरी, संसद्को एउटा बैठकमा पनि राप्रपा नेपालका अध्यक्ष थापाले ठूला दलले जनमतमाथि ‘बलात्कार’ गर्दै आफ्नो एजेन्डा लादेको बताएका थिए । उनले प्रयोग गरेको बलात्कार शब्द पनि संसदीय मूल्य, मान्यताविपरीत हो । तर, केटीलाई चकले हान्न पाउने र बलात्कार जस्ता शब्दको प्रयोग हुँदा पनि ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले रेकर्डबाट हटाउन रुलिङ गरेनन् ।
नेपालमा संसदीय इतिहासमा धेरै पटक संसद्भित्र अपशब्द बोलिएका छन् । कतिपय अति आपत्तिजनक शब्द मात्रै रेकर्डबाट हटाइएका छन् तर सामान्य अपशब्दलाई भने रेकर्डबाट हटाउन रुलिङ भएको छैन । रेकर्डबाट हटाउनका लागि सभामुखले रुलिङ नगरेमा सभासद्ले नियमापत्ति गरी हटाउन माग गर्न पाउने अधिकार छ ।
पहिलो संसद् २०१६ मा बसेको प्रतिनिधिसभा बैठकमा प्रवर समितिको गठनलाई लिएर सांसद मृगेन्द्रशमशेरले ‘नालायक’ शब्दको प्रयोग गरेकाले सांसदहरूको कडा आपत्तिबाट तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले त्यसलाई हटाउन रुलिङ गरेका थिए ।
पहिलो संसद् २०१६ मा बसेको प्रतिनिधिसभा बैठकमा प्रवर समितिको गठनलाई लिएर सांसद मृगेन्द्रशमशेरले ‘नालायक’ शब्दको प्रयोग गरेकाले सांसदहरूको कडा आपत्तिबाट तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले त्यसलाई हटाउन रुलिङ गरेका थिए ।
विघटित संविधानसभामा पनि थुप्रै अपशब्द प्रयोग भएका थिए । जसमा आपत्तिजनक शब्द मात्रै रेकर्डबाट हटाइएको छ भने सुन्दा सामान्य अप्ठ्यारो लाग्ने खालका शब्दलाई हटाउन रुलिङ भएको छैन ।
एमाओवादीको अर्धसैनिक संरचना वाईसीएलको विषयमा एमाओवादीलाई व्यंग गर्दै राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले विगतमा भनेको यो उक्तिलाई रेकर्डमा जस्ताको त्यस्तै राखिएको छ । ‘सानो सानो केटाले माछा मार्यो भुरा, तिनै भुरा बेचीकन तरुनीलाई चुरा, अहिले चुरा फुटेर पो यिनी आए कुरा’ भन्ने वाक्य केसीले प्रयोग गरेको उक्तिमा ‘तरुनी’ भन्ने शब्द प्रयोग भएको थियो ।
यो शब्दलाई नेपाली बोलीचालीमा अलि उत्ताउलो शब्द मानिन्छ । यो शब्दलाई रेकर्डबाट हटाउनुपर्ने थियो तर केसीले मीठो स्वरमा राखेको उक्ति सुन्दा सभामुख नेम्वाङ पनि एकचित्त भएछन् त्यसैले रेकर्डबाट हटाउन आदेश नै दिएनन् । त्यस बैठकमा रहेका अन्य सदस्यहरूबाट पनि कुनै नियमापत्ति नभएपछि अहिले संसद्को रेकर्ड शाखामा त्यो उक्ति जस्ताको त्यस्तै भेटिन्छ ।
यसैगरी, विघटित संविधानसभामा राज्य पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रतिवेदनमाथि संविधानसभामा छलफल हुँदा एमाओवादीका तत्कालीन सभासद् गोपाल किराँतीले समितिको प्रतिवेदनले सिफारिस गरेको आधारमा एउटा आपत्तिजनक चेतावनी दिएका थिए । त्यो बढी आपत्तिजनक भएकाले सभामुख नेम्वाङले रेकर्डबाट हटाउन रुलिङ गर्दै शब्द फिर्ता लिन आदेश दिएका थिए ।
किराँतीले भनेका थिए, ‘संविधान बन्न नदिए सबैलाई खरानी पारी खरानीमाथि संविधान जारी गरिन्छ ।’ त्यस्तै विघटित संविधानसभाको संसद् बैठकमा बोल्दै कांग्रेसका नेता मीनेन्द्र रिजालले ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’ भन्दै एमाओवादीलाई व्यंग्य गरेका थिए । नेता रिजालले प्रयोग गरेको ‘डार्लिङ’ भन्ने शब्द पनि नेपाली जनमानसमा उत्ताउलो मानिन्छ । यो शब्द पनि रेकर्डबाट हटाइएको छैन ।
०५१ साल पछिको संसद्मा जनमोर्चाका नेता लीलामणि पोख्रेलले संसद्लाई अपमान गर्दै ‘संसद् भनेको बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने वाक्य प्रयोग गरेका थिए । तर, त्यो वाक्य तत्कालीन सभामुख दमननाथ ढुंगानाले रेकर्डबाट हटाउन रुलिङ गरेका थिए । संसदमा बोल्ने क्रममा सभासद्हरूले उखान, टुक्का, उक्ति, थेगो मिसाई आफ्ना भनाइ प्रस्तुत गर्दा सभ्य भाषामा गर्नुपर्छ भन्ने मान्यता बिर्सेर असभ्य शब्दको प्रयोग गर्नतर्फ उद्यत हुँदा २१औं शताब्दीको नेपाल कसरी सभ्य होला भन्ने चिन्ता गर्न पनि थालिएको छ ।राजधानी दैनिकबाट
