मेडिकल माफिया’को लहरो एमाले र एमाओवादीसम्म
फागुन, काठमाडौं । डा. गोविन्द केसीले पटक-पटक अनशन बसेर दबाव दिएपछि नेपालमा यतिबेला ‘मेडिकल माफिया’हरुको खोजी हुन थालेको छ । माफियाको लहरो पहिल्याउँदै जाँदा यसमा नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरुको नामसमेत मुछिन थालेको छ ।
राजनीति र पैसाको बलमा त्रिविबाट सम्बन्ध लिन खोजेको भन्दै डा. केसीले आन्दोलन छेडेका हुन् । केसीको आन्दोलनको सफलता भनेको यस्ता कलेजहरुले अब कम्तिमा २ वर्षसम्म सम्वन्धन पाउने सम्भावना टरेको अधिकारीहरु बताउँछन् ।
त्रिवि पदाधिकारीहरुले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका तत्कालीन डिन प्रकाश सायमी र शिक्षण अस्पतालका कार्यकारी निर्देशक भगवान कोइरालालाई सम्वन्धनका लागि दबाव दिँदै आएका थिए । सायमी र कोइरालाले जसोतसो यो वर्ष सम्वन्धन दिने समय कटाउने प्रयास गरिरहेका थिए । तर, कोइरालालाई समेत पत्तो नदिएर डिन सायमीले राजीनामा दिएपछि त्रिवि पदाधिकारीले चार कलेजलाई सम्वन्धन दिने चलखेल गरे ।
‘सुरुमा प्रहरीद्वारा सञ्चालित अस्पतालले एमबीवीएस कक्षाका लागि सम्बन्धन लिन अनुमति मागेको थियो, पछि राजनीतिक कभरमा एमाले नेता राजेन्द्र पाण्डे नेतृत्वको मनमोहन अस्पतालले सम्बन्धन माग्न थाल्यो’ शिक्षण अस्पतालका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘सरकारको आडमा प्रहरीहरु र राजनीतिको आडमा एमाले नेताहरु अगाडि आएकै बेला एमाओवादीलाई समातेर वीरगञ्जबाट बसरुद्धिन अन्सारीसमेत अघि सरेपछि हामी झस्कियौं र यी चारैवटा मेडिकल कलेजलाई सम्बन्ध दिनु हुँदैन भन्ने निश्कर्षमा पुग्यौं ।’
NMC Beerganj
‘पाण्डे र शर्माको मात्रै कुरो आउँदासम्म हामीलाई राजनीतिकरण भयो भन्ने मात्र लागिरहेको थियो तर, वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका एमडी बसरुद्धिन मियाले एमाओवादीमार्फत् झोलामा पैसा बोकेर हिँडेपछि हामीले निश्कर्ष निकाल्यौं कि यसमा राजनीतिकरणमात्रै नभई माफियाकरण समेत शुरु भएको छ ।’
प्रहरी अस्पतालमात्रै आएको भए सम्बन्धन पाउन सक्ने सम्भावना रहिरहेका बेला एमाले, एमाओवादी, प्रहरी र माफियाले समेत मिलेर एकैसाथ सम्बन्धन मागेकाले चारैवटा मेडिकल कलेजले सम्बन्धन नपाएको स्रोतले बतायो । ‘यिनीहरु एकैसाथ आएपछि हामी झसङ्ग भयौं, स्रोतले भन्यो, सम्बन्धन पाउनका लागि झोलामा पैसा बोकेर दौडिएको पनि देखियो ।’
स्रोतका अनुसार एमाले सभासद राजेन्द्र पाण्डे प्रमुख रहेको मनमोहन मेमोरियल अस्पतालले रेग्मी सरकारका शिक्षा थथा सञ्चारमन्त्री माधव पाण्डेलाई साथ लिएर सम्बन्धनका लागि दबाव दिएका थिए । एमाओवादीमा प्रभाव जमाएका सुनील शर्माले भाञ्जाको नाममा चलाइएको पिपुल्स डेन्टल कलेजको सम्बन्धनका लागि एमाओवादी नेता वर्षमान पुनलाई प्रयोग गरेका थिए ।
Rajendra Pandeyशशी शर्मामार्फत् सम्बन्धन लिने प्रयास असफल
प्रकाश सायमीले राजीनामा दिएलगतै त्रिवि पदाधिकारीले करोडौंको डिल मिलाएर शशी शर्मालाई डिनमा नियुक्त गर्ने र चार कलेजलाई सम्वन्धन दिने योजना बनाएको स्रोतको दाबी छ । एक अधिकारीले भने-सुनील शर्माको टेलिफोन ट्याप गरे सबै कुरा खुलिहाल्छ ।’
आर्थिक चलखेलको आशंकामा अख्तियारले त्रिवि पदाधिकारीहरुलाई समेत बोलाएर सोधपुछ गरेको थियो तर, अहिलेसम्म उनीहरुमाथि कुनै कारवाही गरेको छैन ।
स्रोतका अनुसार कांग्रेस पृष्ठभूमि भएका शर्मालाई एमालेले डिन बनाएपछि केही दिन त कांग्रेस समर्थित स्वाथ्यकर्मीहरुसमेत खुसी भएका थिए । तर, माफियाकरणका लागि आएको खुलेपछि प्रा. डा. केसीले आमरण अनशन थाले, जसलाई डा. सायमी र कोइराला दुबैले समर्थन गरे ।
वीरगञ्ज नेशनल कलेजका एमडी एमाओवादीमा प्रवेश गरेर सभासदको उम्मद्वार समेत बनेका थिए भने एमालेका राजेन्द्र पाण्डे चुनाबै जितेर संविधानसभामा पुगेका छन् ।
मोरङको बेलबारीस्थित काकूममा सामान्य परिवारका सदस्य रहेका सुनील शर्मा -न्यौपाने) एमाओवादीका भरपर्दा चन्दा दाता हुन् । वर्षमान पुनलाई चीन भ्रमण गराएर सम्बन्ध सुधार गरेका शर्माले गत चुनावमा पनि मोरङमा पुनलाई गाडी उपलब्ध गराएर सहयोग पुर्याएका थिए ।
Sunil Sharmaचारै अस्पतालले सम्बन्धन नपाउने विश्वास
अहिले सरकारले सम्वन्धनका विषयमा भएको भनिएको अनियमिताको छानविन गर्न अख्तियारलाई निर्देशन दिने सममति भएको छ । केसीको आन्दोलनसँथगै पैसा र राजनीतिको गलत प्रयोग गरेर सम्बन्धन लिन खोज्नै चारैवटा मेडिकल कलेजको सम्बन्धन नहुने भएको छ ।
‘अब सबैले ढुक्क भए हुन्छ, यी चारैवटा मेडिकल कलेजले अब सम्बन्धन पाउने छैनन्,’ स्रोतले अनलाइनखबरसँग भन्यो,’डा. केसीको आन्दोलनका कारण मेडिकल माफियाहरु थर्कमान भएका छन् ।’
‘कसैले केही नाप्न सक्दैन’ – पाण्डे
उता संविधान भवनभित्र पस्दै गरेका एमाले नेता पाण्डेलाई तपाईलाई त ‘मेडिकल माफिया’ भनिएको छ नि भन्ने प्रश्न गर्दा उनले हिँड्दै जवाफ दिए- ‘मलाई यस्तो भन्नेहरुले केही पनि नाप्न सक्दैनन् । जति विरोध गरे पनि मलाई केही डर छैन, यिनीहरुको विरोधले मलाई केही हुनेवाला छैन ।’
अनलाइन खबर

